फर्जी कागजातबाट बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिबारे संसदमा प्रश्न, छानविनका लागि संसदीय समिति माग

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको सम्बन्धमा सिंगो नियुक्ती प्रक्रियाबारे संसदीय समिति बनाएर छानविन गर्नुपर्ने आवाज आजको प्रतिनिधि सभाको बैठकमा उठेको छ ।
हुम्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद छिरिङ डम्दुल लामाले बीमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई नियुक्ती गर्ने सम्बन्धी मिति २०८१ फागुन १२ गतेको मन्त्रिपरिषदको निर्णय र छनौट समितिले पुरा गरेको प्रक्रियाहरुमा गम्भिर त्रुटी र सेटिङ रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल, मुख्य सचिव एक नारायण अर्याल, अर्थसचिव घनश्याम शर्मा उपाध्यायको संलग्नता रहेको भन्दै संसदीय समिति बनाएर छानविन गर्नुपर्ने माग अघि सारेका हुन् ।
सांसद कार्चेनले नियम अनुसार ३५ बर्ष उमेर पुग्नुपर्नेमा उमेर नपुगेको, बीमा ऐन २०७९ बमोजिमको योग्यता समेत नपुगेको व्यक्तिलाई फर्जी कागजातका भरमा तलदेखि मन्त्रिपरिषदसम्म सेटिङमा नियुक्त गरिएको भन्दै सरकारको जवाफ समेत माग गरेका छन् ।
बीमा प्राधिकरणमा अध्यक्ष ओझाले आफू चाणक्य मिडियामा काम गर्ने सामान्य संवाददाता हुँदा हुँदै विभिन्न प्रतिष्ठानको उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव रहेको भन्दै फर्जी कागजात तयार गरी छनौट समितिमा पेश गरी मन्त्रिपरिषदबाट अध्यक्ष पदमा नियुक्ती खान सफल भएका थिए ।
सो सम्बन्धमा सांसद छिरिङ डम्डुल लामा कार्चेनले सार्वभौम सत्ता अभ्यास गर्ने मन्त्रिपरिषदबाट भएको सार्वजनिक नियुक्तीले कानुन, ऐनको धज्जी उडाएको भन्दै संसदमा कडा प्रश्न उठाएका हुन् ।