कैलालीको भजनी नगरपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

२३ बैशाख २०८२, मंगलवार ११:१८

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालयले भजनी नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीको प्रमुख आतिथ्यता एवं नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर सिंहको विशेष अतिथ्यतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्ष एवं सदस्यहरु, पालिकाका कर्मचारीहरू, स्थानिय विद्यालयका शिक्षक, कृषि ज्ञान केन्द्र तथा पशु विज्ञ केन्द्रका प्रतिनिधिहरू, पालिकाका कर्मचारीहरु, जीवन तथा निर्जीवन बीमकका शाखा प्रमुखहरु, स्थानीय व्यवसायी तथा किसानहरु, अभिकर्ताहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

बैशाख २२ गते गरिएको उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयबाट बीमा सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रमको उद्देश्य, प्राधिकरणको संक्षिप्त परिचय, प्राधिकरणको काम, कर्तव्य र अधिकारक्षेत्र, बीमा सम्बन्धी कानूनी व्यवस्थाहरु, बीमा गर्दा ध्यान दिनुपर्ने विषयहरु, जीवन एवं निर्जिवन बीमाको दावी भुक्तानि प्रक्रिया एवं आवश्यक कागजातहरु, बीमा क्षेत्रबाट सम्पादन भएका बीमा गतिविधिहरु, बीमाको विकासमा स्थानीय तहको भूमिका र आम नागरीकलाई बीमासँग जोड्नको लागि स्थानीय सरकारलाई प्राधिकरणबाट हुन सक्ने सहयोग लगायतका विषयवस्तु समेटीएको कार्यपत्र प्रस्तुत भएको थियो ।

 साथै, उक्त कार्यक्रममा बीमालाई स्थानीय तहको बजेट एवं कार्यक्रमा नीतिगत रुपमै समावेश गर्ने र स्थानीय तहले बीमाशुल्कमा अनुदान प्रदान गरी आम नागरीकालाई बीमासँग जोड्न प्रोत्साहन गर्न सक्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख केवाल चौधरीज्यूले भजनी नगरपालिका कैलाली जिल्लाकै धेरै बाढी डुवानयुक्त क्षेत्र भएकोले उक्त क्षेत्रको किसानलाई कृषि बीमा मार्फत कसरी रक्षावरण गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

कार्यपालिका सदस्य र पालिकामा कार्यरत कर्मचारीहरुको बीमा पालिकाबाटनै हुँदै आएको विषय उल्लेख गर्दै प्रमुखले बीमा दाबी भुक्तानीका सम्बन्धमा देखिएका समस्याहरूको निराकरण गर्नका लागि प्राधिकरणले सशक्त पहल गर्नुपर्ने र पालिकाभित्रका नागरीकको सम्पति तथा जीवनको आर्थिक रक्षावरणको लागि प्राधिकरणसँग समन्वय गरी अगाडी बढ्ने व्यहोरा समेत प्रष्ट गरेका छन् ।

कार्यक्रमको अन्तमा बोल्दै नगर प्रमुख चौधरीले सरल एवं सहज रुपमा बीमा दाबी भुक्तानी हुने व्यवस्था मिलाउन र बीमाप्रतिको आम नागरीको बीमाप्रतिको विश्वास बढाउन बीमा कम्पनीहरूले जिम्मेवारपुर्वक कार्य गर्नुपर्ने र प्राधिकरणले उक्त कार्यको प्रभावकारी नियमन गर्नुपर्ने वियषमा जोड दिन समेत सुझाव दिए ।

कार्यक्रममा उपस्थितहरुले, दावी भुक्तानीमा प्रकियागत झन्झटि रहेको, बंगुर एवं पशुजन्य बीमा बजारमुल्य भन्दा न्युन मुल्यमा हुने गरेको, इन्जिनियरिङ्ग बीमाको डकुमेन्टेसनमा समस्या देखिएको, कोरोना बीमाको दाबि भुक्तानी हालसम्म हुन नसक्दा बीमा प्रतिको विश्वासमा ह्रास आएको लगायतका समस्या समस्याहरुलाई सहज रुपमा समाधान गर्न प्राधिकरणले समन्वयनकारी भुमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

कार्यक्रममा उठेका सवालहरुको जवाफ दिदै प्रधिकरणका प्रदेश कार्यालय प्रमुख केदार नाथ भट्टले बीमा कम्पनीहरुले आम नागरीकको विश्वास जित्न र बीमाप्रतिको धारणालाई सकारात्मक बनाउन क्षणिक लाभको पछी नलागी दिर्घकालिन सोचसहीत बीमा गर्न बीमकका शाखा प्रमुखहरुलाई सुझाव दिए ।

साथै, उनले पशुपन्छी एवं सम्पत्तिको बास्तविक मुल्यकै आधारमा बीमा गर्न बीमकका शाखा प्रमुखहरुलाई निर्देशन दिँदै बीमाको सम्बन्धमा कुनै समस्या परेमा प्राधिकरणको प्रदेश कार्यालयमा सम्पर्क गर्न समेत सहभागीहरुलाई आग्रह गरेका छन् ।

नेपाल सरकारबाट निकासा भएपछिमात्र कोरोना बीमाको दाबी रकम भुक्तानी हुने व्यहोरा अनुरोध गर्दै कार्यालय प्रमुख भट्टले पालिकासँग समन्वय गरी आवश्यक सहयोग गर्न प्राधिकरण सदैव तयार रहेको र सो कार्यको लागि पालिकाबाट बीमा सम्बन्धमा फोकल पर्सन तोकि आवश्यक समन्वय गर्न समेत आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*