नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा सम्पन्न, ६ जना सञ्चालक निर्वाचित

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा जेठ ५ गते धुलिखेलस्थित होटल सारथीमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष मणिकुमार अर्ज्यालको अध्यक्षतामा सम्पन्न भएको सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै अनुमोदन गरेको छ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी नीतिहरू पारित गरेको छ। साथै साविक मिर्मिरे लघुवित्तको २०८० फागुन मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन र लेखा विवरणहरू पनि अनुमोदन भएको छ।
चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय सभाले पारित गरेको छ। त्यस्तै संस्थाको कर्पोरेट कार्यालय सार्ने विषयमा आवश्यक परे प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिएको छ।
सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट मणिकुमार अर्ज्याल, सन्तोष फुयल र टेकबहादुर बोहरालाई निर्वाचित गरेको छ। सर्वसाधारण समूहबाट भने सुधिर कुमार श्रेष्ठ, सञ्जू घिमिरे र राजकुमार राई निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचित सञ्चालकहरूको कार्यकाल चार वर्षको रहनेछ।