बीमा कम्पनीका सिईओहरुसँग बीमा प्राधिकरणका अध्यक्षले गरे छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा कमपनीका सिईओहरुसँग बुधबार छलफल गरेका छन् । बुधबारको छलफलमा बीमा क्षेत्रमा सञ्चालनमा रहेका समस्या र समाधानका लागि हुनसक्ने प्रयासमाथि छलफल भएको थियो ।
बुधबार मध्यान्ह १२ बजे जीवन बीमा कम्पनीका सिईओहरुसँग छलफल भएको थियो भने २ बजे निर्जीवन बीमा कम्पनीका सिईओहरुसँग छलफल भएको थियो । सो छलफलमा अध्यक्ष एक्लै बसेर सिईओहरुसँग गफ गरेका थिए । यसअघिको सुरुवाती ब्रिफिङमा बीमा प्राधिकरणका छ जना निर्देशक र कार्यकारी निर्देशक समेत राखेर छलफल गरेकोमा यस पटक एक्लैले सिईओहरुको कुरा सुनेका थिए ।
बीमा प्राधिकरणको अध्यक्षको रुपमा गत फागुन १३ गते पदभार ग्रहण गरेपछि प्राधिकरणभित्र निर्जीवन बीमा कम्पनीका सिईओहरुलाई अध्यक्ष ओझाले पहिलो पटक सामूहिक रुपमा भेटवार्ता गरेका हुन् ।
बुधबारको छलफलमा ओझा अत्यन्तै नरम शैलीमा प्रस्तुत हुँदै सिईओहरुलाई बीमा प्राधिकरणबाट प्रवाह भइरहेका सेवाहरुको प्रभावकारिताका बारेमा जिज्ञाशा राखेको प्राधिकरण स्रोतले जनाएको छ ।
छलफलमा सिईओहरुले आफ्ना समस्या राखेका थिए भने अध्यक्षले बीमा प्राधिकरणका कर्मचारीहरुबाट भइरहेको कामको डेलिभरी, समस्या र समाधानका उपायहरु के के हुनसक्छन् भनेर सोधेका थिए ।
बुधबारको छलफल अत्यन्तै सकारात्मक रहेको एक जीवन बीमा कम्पनीका सिईओले बीमापोष्टलाई जानकारी दिए । उनले भने, ‘नियामकले बीमा क्षेत्रमा के के समस्याहरु छन् र कसरी समस्याहरुको समाधान गर्न सकिन्छ भनेर चासो राख्नुलाई मैले सकारात्मक रुपमा नै लिएको छु ।’
-फाइल तस्विर