नयाँ गभर्नरको नयाँ समीक्षाले अर्थतन्त्रको दीगो विकास हुन्छ कि अस्थायी तामझाम ?

समाचार टिप्पणी
काठमाडौं । नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेको हप्तादिनभित्रैमा चालु आवका लागि जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक भएको छ । हिजो सार्वजनिक भएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गभर्नर डा. पौडेलले अर्थतन्त्रलाई हेर्ने दृष्टिकोण कस्तो राख्दछन् भन्ने स्पष्ट हुन आएको छ । गभर्नर पौडेल समाजवादी अर्थव्यवस्था कि पुँजिवादी अर्थव्यवस्था कुन पक्षका हिमायती हुन् भन्ने कुरा पनि स्पष्ट हुन आएको छ ।
नेपालले संविधान, ऐन, कानुन र बहसमा समाजवाद उन्मुख अर्थव्यवस्थामा जाने उद्घोष गरिसकेको छ । सो अनुसार जुनसुकै व्यक्ति आएपनि उक्त व्यवस्था उन्मुख आर्थिक नीति बनाउने कार्यबाट बिमुख हुनु हुँदैन । तर, नेपालमा सत्ता र पद पाएपछि आफुनो नीति लाद्ने र परिक्षण गरेर हेर्ने दृष्टिबाट ग्रसित हुँदै आएका कारण न पुँजिवादी अर्थव्यवस्थाको विकास हुन सकेको छ न त समाजवादी अर्थव्यवस्थातर्फ उन्मुख हुनका लागि योगदान नै गरेको छ ।
चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा नयाँ गभर्नर आगमनपछिको नयाँ नीतिको प्रस्थानबिन्दुको रुपमा हेरिएको थियो । तर, नयाँ गभर्नर डा. विश्व पौडेलले वर्तमान सुस्सतामा डुबेको अर्थतन्त्रलाई माथि उकास्ने गरी प्रस्थान बिन्दुको रुपमा नयाँ आशा छर्न असफल भएको रुपमा चर्चा गरिएको छ ।
देशमा औद्योगिक उत्पादन तल झरेर रोजगारी न्यून अवस्थामा पुगेको, दुई छाक टार्नकै लागि युवाहरु रोजगारीको लागि विदेश जानुपर्ने अवस्था विद्यमान रहेको तथा आर्थिक गतिविधिहरु न्यून भएको अवस्थामा यसलाई माथि उकास्ने चुनौतिका बीचमा डा. पौडेल नयाँ गभर्नरको रुपमा कार्यभार सम्हालेका थिए ।
तर, उनको पहिलो नीतिगत निर्णयमा शेयर बजारलाई मात्रै आरक्षण गर्ने बुँदा राखेर प्रकाशित भएको छ । यसले शेयर बजारका माफिया, बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी गरी शेयर मूल्य तलमाथि पार्न चाहने तत्वहरुलाई मात्रै फाइदा पुग्ने देखिन्छ । साथै नेपालमा रहेको लगानी बिक्री गरेर विदेश भाग्न चाहनेहरुलाई मात्रै फाइदा पुग्ने गरी शेयर बजारलाई प्रोत्साहन गरेको देखिन आएको छ ।
कृषि प्रधान देश नेपालको नव नियुक्त गभर्नरले मौद्रिक नीतिको समीक्षामा एउटा बुँदामा शेयर धितोकर्जामा बैंकहरुले गणना गर्नुपर्ने जोखिमभार १२५ बाट १०० मा झार्ने निर्णय गरेका छन् । यसले शेयर धितोमा धेरै कर्जा दिने बैंकलाई मात्रै फाइदा हुनेवाला छ । यस्तो निर्णयले बाणिज्य बैंकहरुमा जम्मा भएको निक्षेप तत्कालका लागि बजारमा परिचालन गर्ने बाटो खुलेको छ । नयाँ निर्णयसँगै शेयर बजारमा धेरै लगानी भई बजार मूल्य नै माथि पुग्ने आम विश्वास छ । तर, सधैं, सबै समयमा एउटै अवस्था भने नहुन सक्दछ ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएसँगै नयाँ गभर्नर उत्पादन बृद्धि, औद्योगिकरण, नयाँ क्षेत्रमा प्रवेश भन्दा पनि राम रमाइलो देखिने गरी अलिदिन अर्थतन्त्र चलायमान बनाउने काम भन्दा केही हुँदैन भन्ने तथ्य स्थापित गरिदिएको छ । साथै बैंकिङ प्रणालीमा जम्मा भएको छ खर्बभन्दा बढि निक्षेप उत्पादनशिल क्षेत्रमा नगई अनुत्पादक क्षेत्रमा जाने र यसले दीर्घकालिन रुपमा अर्थतन्त्रमा खराव असर पार्ने नै देखिन्छ । अलिदिन राम रमाइलो अर्थतन्त्रमा देखिए पनि अर्थतन्त्रमा देखिएको संकट टर्ने सम्भावना भने क्षीण बनेर गएको छ ।