बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि अख्तियारको छानविन सुरु, अर्थको फाइल टंगालमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि उठेको प्रश्नबारे भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । अख्तियारले फर्जी तथा झुठो विवरण पेश गरी नियुक्ती लिएको बिषयमा विस्तृत अनुसन्धान सुरु गरेको हो ।
आयोगका अनुसार ओझाले अध्यक्ष हुँदा पेश गरेको कागजात र उनले अन्यत्र निकायमा रहेर काम गर्दा लिएको नियुक्ती पत्र समेतका प्रमाणका आधारमा छानविन सुरु गरेको हो । ओझाले चाणक्य मिडिया प्रा.लि.को उच्च व्यवस्थापकीय तहमा रहेर काम गरेको भन्दै अनुभव प्रमाणपत्र मन्त्रिपरिषदमा पेश गरी बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त भएका थिए ।
तर, यथार्थमा ओझाले चाणक्य मिडिया प्रा.लिको उच्च व्यवस्थापकीय तह मात्रै नभएर कुनै पनि व्यवस्थापकीय तहमा कामै गरेका थिएनन् । उनले मात्रै संवाददाताको रुपमा नियुक्ती लिई तलव समेत लिई श्रमजीवी पत्रकार ऐन २०५१ बमोजिमको पदमा कार्यरत रहेका थिए । सो सम्बन्धमा अख्तियारले विशेष केन्द्रीत भएर छानविन गरिरहेको आज प्रकाशित कान्तिपुर दैनिकले समाचार लेखेको छ । फर्जी र झुठो विवरण पेश गरी नियुक्ती लिएको बिषय सर्वोच्च अदालतले समेत नियुक्ती सम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिइसकेको अवस्था छ ।
शरद ओझाको फाइल अख्तियारका सिलबन्दी अवस्थामा राखिएको थियो । सो फाइल अख्तियारका अधिकारीले टंगाल पुर्याइसकेको स्रोतले जनाएको छ । आयोगमा परेको उजुरीमा कामै नगरेको तथा कन्सल्टेन्टको रुपमा एक पटक काम गरेको स्थानबाट समेत अनुभव सम्बन्धी प्रमाण पत्र बनाएर फर्जी र झुठो विवरण पेश गरी नियुक्ती लिएको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट समेत त्रुटी भएको भन्दै आयोगमा उजुरी परेको छ ।
समाचार अनुसार अख्तियारले फर्जी कागजात बनाउने विभिन्न कम्पनी तथा निकायका अधिकारीलाई समेत बोलाएर बयान लिएको छ । बयानका क्रममा केहीले नेपालमा नियुक्ती खान नभई विदेशमा अध्ययनका लागि जाने भएकोले कागाजत बनाईदिन आग्रह गरे अनुसारको कागजात बनाईदिएको बयान दिएको उल्लेख छ ।
आयोग स्रोतले बीमापोष्टलाई जनाए अनुसार टंगालस्थित अख्तियारको रातोघरमा विगत १० दिनदेखि ओझाको फाइल झिकाउने र बयान लिने काम चलिरहेको जानकारी दिँदै अनुसन्धान प्रक्रिया सकिने वित्तिकै मुद्दा दर्ता गरिने जनाएको छ । अख्तियारको छानविनको क्रममा ओझाले नियुक्ती हुँदा पेश गरेको कागजातमा उल्लेख गरेको कम्पनी मध्य कतिपय कम्पनीमा कामै नगरेको र कतिपयमा उच्च व्यवस्थापकीय तहमा काम गरेको नभई सामान्य पदमा काम गरी उच्च व्यवस्थाकीय तहमा काम गरेको भनि फर्जी कागजात बनाइएको फेला परेको जनाइएको छ ।
योग्यता नै नपुगेको व्यक्तिलाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय, बीमा ऐनको धज्जी !