मजबुद बन्दै बैंक तथा वित्तीय संस्थाहरु, नागरिकलाई ५३ खर्ब ७८ अर्ब कर्जा प्रवाह

काठमाडौं । नेपालमा सञ्चालन रहेका बैंक तथा वित्तीय संस्थाहरु वित्तीय रुपमा मजबुद बन्दै नागरिकहरुलाई कर्जा प्रवाहमा सफल देखिएका छन् । नेपाल सरकार, अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षण अनुसार हाल नेपालमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी १०७ बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन्। देशका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना भएको छ ।
बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएसँगै वित्तीय पहुँच वृद्धि हुँदै गएको छ । २०८१ फागुनमा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता ५ करोड ८३ लाख ९९ हजार, कर्जा खाता १९ लाख ३७ हजार, मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता २ करोड ६७ लाख ५७ हजार र इन्टरनेट बैंकिङ्ग सेवाका प्रयोगकर्ता २१ लाख ४१ हजार रहेका छन्।
चालु आर्थिक वर्षको फागुनमा बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्याका आधारमा प्रति शाखा जनसङ्ख्या औसत २,५२७ पुगेको छ। यस्तो जनसङ्ख्या २०८१ असारमा २,५२४ रहेको थियो । जुन कुरालाई सरकारको सफलताको रुपमा हेर्न सकिने अर्थमन्त्री पौडेलले बताएका छन् ।
वार्षिक विन्दुगत आधारमा २०८१ फागुनमसान्तमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशतले वृद्धि भई ६७ खर्ब २९ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । गत आवको फागुनमसान्तमा यस्तो निक्षेप ६१ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । वार्षिक विन्दुगत आधारमा चालु आवको फागुनमसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले वृद्धि भई ५३ खर्ब ७८ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत आवको फागुनमसान्तमा यस्तो कर्जा ४९ खर्ब ९६ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।
चालु आवको फागुनमा वाणिज्य बैङ्कले निक्षेपमा प्रदान गर्ने तथा कर्जामा लिने भारित औसत ब्याजदर क्रमशः ४.५४ प्रतिशत र ८.४० प्रतिशत रहेको छ । २०८० फागुनमा यस्तो ब्याजदर क्रमशः ६.७४ प्रतिशत र १०.७८ प्रतिशत रहेको थियो । बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०८० पुसमा ३.७३ प्रतिशत रहेकोमा वृद्धि भई २०८१ पुसमा ४.९२ प्रतिशत पुगेको छ।














