शेर्पा संघको नेतृत्वमा तेन्जी शेर्पाको स्वतन्त्रबाट उम्मेदवारी, स्वायत्तता र पहिचान रक्षाको दृढ प्रतिवद्धता

काठमाडौँ । नेपाल शेर्पा संघको आसन्न सातौँ केन्द्रीय महाधिवेशनलाई लक्ष्य गरी हाल संघका उपाध्यक्ष रहेका तेन्जी शेर्पाले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो समयदेखि शेर्पा समुदायमा सामाजिक सेवामार्फत सक्रिय रहेकाले उनले संस्थाको पारदर्शिता, संस्थागत सुदृढीकरण तथा शेर्पा पहिचानको संरक्षणलाई मुख्य प्राथमिकताका रूपमा अगाडि सारेका छन्।
तेन्जी शेर्पाले संघको विगत नेतृत्वकालमा भवन खरिद प्रक्रिया, शेर्पा शैलीमा सभा हल निर्माण तथा शान्ति स्तूप ध्यान केन्द्रको स्थापना जस्ता महत्वपूर्ण योजनाहरूको नेतृत्व गरेका थिए। उनले संघको स्वामित्वमा रहेको भवन खरिद प्रक्रियामा निर्णायक भूमिका खेलेका थिए भने आर्थिक सहयोगदाताको नाम स्मारक शिलालेखमा उल्लेख गर्नेसम्मको जिम्मेवारी समेत लिएका थिए।
उनको नेतृत्वमा शान्ति स्तूप ध्यान केन्द्र स्थापना गरिएको छ जुन निजामती शहीद पार्कसँगको सहकार्यमा सम्पन्न भएको हो। त्यस्तै, शेर्पा समुदायको स्वाभिमान र सांस्कृतिक पहिचान झल्किने संरचना निर्माणका लागि ‘शेर्पा ट्रस्ट’ को स्थापना प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताएका छन्। विभिन्न संघसंस्थाहरूमा रहेर लामो समय कार्यानुभव हासिल गरेका शेर्पाले महाधिवेशनमा नयाँ सोच र कार्यशैलीसहित नेतृत्व गर्ने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्।
उनले आफू कुनै विशेष गुट वा समूहको समर्थनमा नभई सम्पूर्ण शेर्पा समुदायको हितका लागि स्वतन्त्र रूपमा अघि बढेको स्पष्ट पारेका छन्। “यो उम्मेदवारी व्यक्तिगत आकांक्षा होइन, सम्पूर्ण समुदायको अधिकार र भविष्यलाई संस्थागत बनाउने प्रयास हो,” उनले भने।
तेन्जी शेर्पाको घोषणापत्रमा संघको भवन व्यवस्थापन सुधार, दक्ष कर्मचारी प्रणाली विकास, सेवा प्रवाह चुस्त बनाउने, युवा नेतृत्व विकास, शिक्षा तथा आर्थिक सशक्तीकरण, जलवायु परिवर्तनको असरबारे आवाज उठाउने र अन्तर्राष्ट्रिय स्तरमा शेर्पा पहिचान प्रवद्र्धनजस्ता विषय समेटिएका छन्। साथै, संघीय संरचनाभित्र पहिचानसहितको स्वायत्त शेर्पा प्रदेश (शेर्वा लुङ) स्थापनाका लागि दीर्घकालीन रणनीति तयार पार्ने र त्यसका लागि गहन अध्ययन, छलफल तथा सरकारी तहमा वार्ताका माध्यमबाट पहल गर्ने उनले प्रतिवद्धता जनाएका छन्।
शेर्पा संघको सातौँ महाधिवेशन आगामी असार १ र २ गते काठमाडौं बौद्धस्थित शेर्पा सेवा केन्द्रको हलमा सम्पन्न हुने तयारीमा छ। तेन्जी शेर्पाको उम्मेदवारीले नेतृत्व प्रतिस्पर्धालाई उद्देश्यपूर्ण र रोमाञ्चक बनाएको छ।