‘बीमा प्रतिबिम्ब’ दोस्रो संस्करण सार्वजनिक: बीमा क्षेत्रका विस्तृत तथ्यांक र विश्लेषण समावेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य तथ्यांकहरूको विश्लेषण समेटिएको ‘बीमा प्रतिबिम्ब’ को दोस्रो संस्करण आज सार्वजनिक गरेको छ। प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्मका विवरण समावेश गर्दै बीमा क्षेत्रको प्रगति, पहुँच, दाबी भुक्तानी लगायतका सूचकांक प्रस्तुत गरेको हो।
‘बीमा प्रतिबिम्ब’ को यस संस्करणमा सो अवधिसम्म जारी भएका बीमालेखको संख्या, प्रदेशगत विवरण, संकलित बीमाशुल्क, दाबी भुक्तानीको विवरण, जीवन बीमाको पहुँच, समर्पण तथा व्यतित बीमा विवरण, बीमकहरूको वित्तीय अवस्था, शाखा कार्यालयहरूको संख्या तथा कर्मचारी विवरणहरू समेटिएका छन्।
साथै, बीमा क्षेत्रका समग्र सूचकांकहरूलाई समेत तुलनात्मक रूपमा विश्लेषण गरिएको छ।
बीमा बजारको पारदर्शिता र सूचनाको प्रवाह अभिवृद्धि गर्न प्राधिकरणले गत वर्षदेखि ‘बीमा प्रतिबिम्ब’ को प्रकाशन सुरु गरेको हो।प्राधिकरणका अनुसार नियमित तथ्यांक प्रकाशित गर्नाले नीति निर्माण, अनुसन्धान र बीमा क्षेत्रको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बीमा प्रतिबिम्बको दोस्रो संस्करण