क्यास ब्याकको छानविनले बीमा कम्पनीहरुमा तनाव, शून्यमा झार्ने प्राधिकरणको लक्ष्य

४ असार २०८२, बुधबार ११:३९

काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा मौलाएको क्यासब्याक अहिले बीमा कम्पनीहरुकै लागि टाउको दुखाईको बिषय बनेको छ । सिईओहरुले बोर्डलाई फर्काएर चलाएको क्यास ब्याक धन्दामाथि बीमा प्राधिकरणले कडा निगरानी गर्दै स्थलगत निरिक्षण गरिरहेको छ ।
प्राधिकरणको टोलीले कडा निगरानी सुरु गरेपछि बीमा कम्पनीहरुमा तनाव सुरु भएको छ । बीमा कम्पनीहरुले बीमा व्यवसाय भित्राउँदा क्वाईन्टलाई दिएको क्यासब्याक दिने कार्य गैर कानुनी हो । उधारो बीमा पोलिसी काट्नु र क्यासब्याक दिनु दुवै गैर कानुनी भएपनि भित्रभित्रै चलिरहेको थियो ।

बीमा प्राधिकरणले यो साताबाट सुरु भएको क्यासब्याकको छानविनसँगै अहिले बीमा कम्पनीका सिईओ तथा लेखा र मार्केटिङ शाखाका प्रमुखहरु तनावमा परेका छन् ।

‘अन्यत्र गइरहेको बीमा आफ्नोमा भित्राउन थुप्रै पापड बेल्नुपर्दछ । र, अलि ठूला ठूलो बीमा व्यवसाय दिने कम्पनीहरुले होटलमा गर्ने कुनै कार्यक्रमहरु स्पोन्सर गर्नु, होटलतिरको बिल तिरीदिनु सामान्य कुरा हो,’ एक निर्जीवन बीमा कम्पनीका मार्केटिङ म्यानेजरले बीमापोष्टसँग भने ।

बीमा प्राधिकरणले अहिले यही कुराहरुलाई अत्यन्तै सुक्ष्म ढंगले निगरानी गरिरहेको छ । प्राधिकरणका अनुसार नेपालमा सञ्चालित १४ निर्जीवन र लघुु निर्जीवन बीमा कम्पनीहरुमा समेत गएर क्यासब्याकको फण्डाको अध्ययन गरिरहेको छ ।

बीमा कम्पनीहरुले क्यासब्याक भनेर सिधैं नगद नदिएर सो को बदलामा होटलको बिल तिर्ने, कार्यक्रमको खर्च स्पोन्सर गरिदिने, कर्मचारी खर्च देखाएर नगदै दिने, केही कम्पनीहरुले बीमा अभिकर्ता कमिशनको नाममा समेत भुक्तानी गरेको पाइएको छ ।

पछिल्लो समय बीमा प्राधिकरणको अनुगमन टोलीले क्यासब्याक काण्डको छानविन गरिरहेको स्वयम् बीमा कम्पनीहरुले नै स्वीकार गरेका छन् । असारको अन्तिम साता व्यवसाय बढाउने र नाफा घाटा हेर्नुपर्ने बेलामा क्यासब्याकको छानविनमा परेपछि निर्जीवन बीमा कम्पनीका सिईओहरु अत्तालिन पुगेको बताइन्छ ।

उता, बीमा प्राधिकरणका अधिकारीहरु भने क्यासब्याक शून्यमा झार्ने गरी काम गरिरहेको बताउँछन् । बीमा क्षेत्रमा विकृतिको रुपमा रहेको क्यासब्याकलाई अब शून्यमा झार्दा राम्रो र दावी तिर्न सहज हुने विश्वासयोग्य कम्पनीले व्यवसाय पाउने सम्भावना हुन्छ । बीमा शुल्क लिने दावी तिर्न नसकी आनाकानी गर्ने नेपालको पुरानो रोगलाई समेत क्यासब्याकले निरुत्साहित गर्ने देखिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*