‘भुइँमान्छेबाट विद्यालय निरीक्षकसम्मको प्रेरणादायी यात्रा: रावलको संघर्ष र आमाको श्रम’

दिपक विष्ट
३० श्रावण २०८२, शुक्रबार १६:५२

भनिन्छ, मानिसको जीवन संघर्षकै एक पर्याय हो । कहिल्यै कठिन त, कहिले अलिक सरल । समयको सुईले अनगिन्ति घुम्तीहरुसँग साक्षात्कार गराउँछ । आँट, विश्वास र मिहिनेतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छन् गणेशबहादुर रावल ।

संघीय राजधानी भन्दा पर सुदूरपश्चिम प्रदेशको एक कुनामा रहेको डोटी जिल्ला शिखर नगरपालिका–११ मल्लीसात भन्ने गाउँमा २०५४ सालमा रावलको जन्म भयो । समयको खेल यस्तो रह्यो कि त्यो बालकको बाल्यकालमा बुबा (ठगि रावल) को माया–ममता र संरक्षण लामो समय टिकेन । बालकको उमेर जम्मा दुई वर्ष हुँदा उनका पिता रोजगारीका लागि भारतमा नै रहेकै अवस्थामा असामयिक रूपमा दिवंगत भए । बाबुको मृत्युले एउटा परिवारलाई मात्र होइन एउटा भविष्यलाई नै ठूलो चुनौंतीको खडा गरिदियो ।

अनुहार समेत राम्ररी दिमागमा रहन नपाउँदै त्यो दुँधे बालकलाई बुबाले छोडेर गए । अब उनको सर्वोच्च नै उनकी आमा (सरु रावल) भइन् । उनले पिताको अभाव बुझ्न सकेनन् तर समयसँगै जीवनका कठोर सत्यहरू उनका लागि पाठशाला बने । आमाले आफ्नो जीवनको सबैभन्दा ठूलो पुँजी—समय, आँसु र श्रम—त्यसै बालकको उज्ज्वल भविष्यका लागि खर्च गरिन् । कहिले अरूको खेतमा मजदुरी, कहिले घर–घरको सानो काम, कहिले आफ्नै बारीमा खेती—त्यही आयले घर चलेको थियो । आमा थाक्थिन्, हात फाट्थे, शरीर दुख्थ्यो तर उनको मन कहिल्यै हताश भएन । छोराले पढाइ छोड्न नपरोस् भन्ने दृढ संकल्पमा उनले आफूले खान नपाए पनि उसको पढाइको खर्च जुटाइन् ।

गणेशबहादुर रावल जसको नाम अहिले पश्चिम नेपालमा धेरैले चिन्छन् त्यतिबेला गाउँको एउटा साधारण बालक मात्र थिए । तर उनको जीवनको पहिलो पाठशाला भनेको उनकी आमा थिइन् जसले अनुशासन, धैर्य र मिहिनेतको मूल्य सिकाइन् ।

गाउँमा प्राथमिक तहको पढाइ सक्ने सुविधा थियो । निम्न माध्यमिक तहसम्मको पढाई उनले गाउँमा नै रहेको भगवती आधारभुत विद्यालयबाट गरे । त्यसपछि पढाईका लागि गाउँबाहिर जानु प-यो । घर आमाको संघर्ष त्यहि छोराको उज्ज्वल भविष्यका लागि जारी थियो । गाउँका हरेक परिवारका एक सदस्य भारतमा रोजगारीका लागि जाने गर्थे । अझ आधारभुत शिक्षा गाउँमा पढेपछि रोजगारीका लागि विदेश वा भारततिर होमिने युवाहरुको कमी थिएन् । आमाले गरेको दुःखले गशेणलाई कहिलेकाँही विदेशिने सोच पनि नआएको होइन । तर, बच्चाका लागि ज्यान दिन समेत तयार भएर लागेकी आमाले त्यो सोचलाई वास्तविकतामा बदल्न कहिल्यै दिइनन् ।

उनले एसएलसी मास्टामाण्डौं मावि लामिखाल, कक्षा १२ सिताराम उच्च मावि उच्चाकोट र बिएड डोटी क्याम्पस सिलगढीमा अध्ययन गरे ।

पढाइमा निरन्तर रहँदा पनि उनले बुझिरहेका थिए । जीवनको बाटो सँधै समथर हुँदैन । कहिले उकालो, कहिले ओरालो । आफ्नो पढाईको जोहोसहित आमालाई थोरै भएपनि राहत होस भन्ने हितुले उनले २०७२ देखि २०७३ सम्म बोर्डिङमा न्यून श्रममा काम गरे । सोहि पश्चात सुरु भयो उनको शिक्षा क्षेत्रमा फड्को । पढाई पूरा गरेपछि उनले २०७३ सालमा अस्थायी करार शिक्षकको रूपमा आफ्नो पहिलो पेशागत यात्रा शुरु गरे । यो ठूलो पद थिएन, तलब पनि न्यून् थियो । तर यसले उनलाई जीवनमा महत्वपूर्ण शुरुवात दियो ।

कक्षामा उभिएर बालबालिकालाई पढाउँदा उनले महसुस गरे—शिक्षा केवल ज्ञानको हस्तान्तरण होइन, यो जीवन परिवर्तनको शक्तिशाली साधन हो । गाउँका बालबालिकाको आँखामा देखिएको जिज्ञासा, उनीहरूको संसार बदल्ने चाहना र आफ्नो सिकाइमार्फत उनीहरूलाई बाटो देखाउने अवसर, यी सबै कुराले उनलाई पेशामा समर्पित बनायो ।
मिहिनेत र समर्पणको फल चाँडै देखियो । २०७६ सालमा उनी प्राथमिक तहको स्थायी शिक्षकमा सिफारिस भए । स्थायी हुनु भनेको आर्थिक र पेशागत स्थिरता मात्र होइन यो सम्मान र पहिचान पनि हो । त्यो क्षणमा उनको मनमा पहिलो कुरा आयो, यो उपलब्धी आमाको आँसु र आफ्नो पसिनाको संयुक्त उपज हो ।

तर गणेशबहादुर यतिमै रोकिएनन् । उनको मनमा अझ ठूलो लक्ष्य थियो । उनी आफ्नो क्षमताको दायरा बढाउन चाहन्थे नयाँ चुनौंतीहरू लिन चाहन्थे ।

२०७९ सालमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा पाँचौं तहको प्राविधिक सहायक पदका लागि आवेदन दिए । प्रतिस्पर्धा कडा थियो तर उनी पहिलो नम्बरमा सिफारिस भए । यो सफलता केवल व्यक्तिगत विजय मात्र थिएन । यो प्रमाण थियो । गाउँको भुइँमान्छे पनि अवसर पाउँदा र परिश्रम गर्दा माथि उठ्न सक्छ ।

२०८१ सालमा अर्को ऐतिहासिक मोड आयो । गण्डकी प्रदेशमा सातौं तहको शिक्षा अधिकृत पदमा उनी पुनः पहिलो नम्बरमा सिफारिस भए । अब उनी केवल शिक्षक मात्र होइन शैक्षिक नीतिहरू कार्यान्वयन गर्ने जिम्मेवार प्रशासक पनि बने । त्यो वर्षकै संघीय तहमा विद्यालय निरीक्षक पदमा वैकल्पिक सूचीमा नाम आयो । धेरैजसोका लागि यतिमै जीवनको ठूलो उपलब्धी मानिन्थ्यो तर उनी अझै अघि बढ्न चाहन्थे ।

२०८२ सालमा खुला प्रतिस्पर्धामा भाग लिएर पुनः विद्यालय निरीक्षक पदमा सिफारिस भए । यससँगै उनले आफ्नो पेशागत जीवनको सर्वोच्च स्थान हासिल गरे एक शिक्षक, एक प्रशासक र अब एक निरीक्षक । अब उनले देशभरका विद्यालयहरूको गुणस्तर हेर्ने जिम्मेवारी पाएका छन् ।

गणेशबहादुरका लागि हरेक सफलताको पहिलो श्रेय आमा नै थिइन् । उनले सानोमा पढाइका लागि खेतमा पसिना बगाएर कापी–कलम किनिदिएको, गुण कहिल्यै तिर्न ‘सक्दिनौं’ नबोलेको, सँधै प्रोत्साहित गरेको सम्झिन्छन् । गणेशबहादुर भन्छन्, ‘म भुइँको मान्छे हुँ । मेरो साथमा कुनै शक्तिशाली हात थिएन । तर आमाको माया र आफ्नो मिहिनेत थियो । त्यहीँले मलाई यो उचाइमा ल्यायो ।’

यो देशमा धेरैले मान्ने एउटा धारणा छ । सफल हुन त शक्तिशालीको आश्रय, पैसाको बल वा राजनीतिक पहुँच अनिवार्य छ । तर गणेशबहादुर रावलको जीवनकथा यस सोचलाई पूर्ण रूपमा खण्डन गर्छ । सुदूरको गाउँमा जन्मिएका, सिफारिस गर्ने कोही नजिकका नभएका उनी केवल आफ्नो योग्यता र निरन्तर मिहिनेतका आधारमा एकपछि अर्को प्रतिस्पर्धा जित्दै अघि बढे । उनी प्रमाण हुन —ईमानदार लक्ष्य र दृढता भएको व्यक्तिले भुइँबाट पनि आकाश छुने सपना पूरा गर्न सक्छ ।

जीवनका कठिन परिस्थिति स्थायी होइनन् तिनीहरू केवल पार गर्नुपर्ने चुनौती हुन् । गणेशबहादुरले विपन्नता र अवसरको कमीलाई कमजोरी होइन प्रेरणा स्रोत बनाए । उनमा विश्वास छ, शिक्षा केवल कागजी प्रमाणपत्र नभई, जीवन बदल्ने हतियार हो । यही विश्वासले उनलाई बारम्बारको असफलता र संघर्षबीच पनि थाक्न दिएन ।

प्रतिस्पर्धा नै क्षमताको वास्तविक परीक्षा हो भन्ने बुझेर, उनले आफ्नो प्रत्येक अवसरलाई पूर्ण तयारीका साथ सामना गरे । उनको सोच स्पष्ट थियो । आजको मिहिनेत भोलिको अवसर हो । यो यात्रामा जसले साथ दिए, सहयोग गरे, उनीहरूलाई सम्झन र सम्मान गर्न उनले कहिल्यै छुटाएनन् । यस्ता मान्यताहरूले नै उनलाई केवल सफल मात्र होइन सम्मानित व्यक्तित्व बनायो ।

गणेशबहादुरको कथा केवल व्यक्तिगत सफलता मात्र होइन हजारौं नेपाली युवाका लागि प्रेरणाको स्रोत हो । भुइँमान्छे भएर पनि ठूलो सपना देख्ने र त्यो पूरा गर्न साहस गर्ने मानिसहरूकै कारण यो देश अझै सम्भावनामा बाँचेको छ । उनीहरूले देखाएका बाटाहरू अरूका लागि पनि सम्भावनाको ढोका खोलेका हुन्छन् ।

अन्ततः, अवसर सजिलै हात लाग्दैन । तर निरन्तर परिश्रम, लक्ष्यप्रति ईमानदारी र कठिनाइलाई मित्रको रूपमा लिन सक्ने दृढताले भुइँबाट आकाशसम्मको यात्रा सम्भव हुन्छ । यिनै मूल्यमान्यता र विश्वासमा अडिएको जीवन कहिल्यै खाली रहँदैन बरु अरूलाई बाटो देखाउने प्रकाश बन्छ ।

(सम्बन्धीत लेख बीमापोष्टकर्मी विष्टसँग कुराकानीमा आधारित हो)

6 thoughts on “‘भुइँमान्छेबाट विद्यालय निरीक्षकसम्मको प्रेरणादायी यात्रा: रावलको संघर्ष र आमाको श्रम’

  1. गणेश रावल says:

    काका यी शब्द तपाईं का कति वजसिला छन् m बयान गर्न सकिन❤️

  2. Prem bdr balayar says:

    संघर्श गर्ने मान्छे यकदिन सफलता पाउन्छ भन्ने कुरा लाई प्रमाणित गरेर देखाउने महान हस्ती लाई सलाम छ । ❤️

  3. Biki chaudhary says:

    Very proud of you sir

  4. रामेश्वरी अवस्थी says:

    धेरै धेरै बधाई छ रावल सरलाई,हजुरको संघर्षको कथा सबैका लागि प्रेरक बनोस्। आफ्नै सुदुर पश्चिमको मान्छे भनेपछि सार्है खुशी लाग्यो। हजुरको मेहेनत र दृढताका लागि सम्मान छ।

  5. के के खड्का says:

    सायद बोर्डिङ भनेर नराखेको होलान् पहिलो नौकरी सरको बोर्डिङ बाट शुरु भाथ्यो। हार्दिक बधाई छ सरलाई।

  6. Ashok Bohara says:

    हरेक समय र परिस्थितिकाे सामाना गर्दै आफू र आफ्नाे धरातलकाे गाैरवपूर्ण चिनारी स्थापित गर्न सफल मेरा आदरणीय काका गणेश रावललाई हार्दिक बधाई एवम् थप आगामी उत्तराेत्तर प्रगतिकाे प्रगतिशील शुभकामना!

Leave a Reply to Prem bdr balayar Cancel reply

Your email address will not be published. Required fields are marked *


*