कागजी नोट घटाउँदै डिजिटल रूपैयाँ, पाँच वर्षमा साढे चार अर्ब बचतको लक्ष्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल रूपैयाँ कार्यान्वयनतर्फ अघि बढाउने तयारीसँगै मुलुकको मौद्रिक प्रणालीमा नयाँ अध्याय सुरु हुने संकेत गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको अवधारणा पत्रले डिजिटल मुद्रालाई भविष्यको भुक्तानी प्रणालीको महत्वपूर्ण आधारका रूपमा अघि सारेको हो ।
डिजिटल रूपैयाँको प्रयोग विस्तार हुँदा यसको प्रत्यक्ष प्रभाव नोट छपाईमा हुने खर्च घटाउनेतर्फ देखिनेछ। नेपाल राष्ट्र बैंकले कागजी नोट छपाईसँगै त्यसको ढुवानी, भण्डारण, सुरक्षा तथा व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आएको छ। केन्द्रीय बैंकको अध्ययनअनुसार डिजिटल रूपैयाँको प्रयोग अपेक्षित रूपमा विस्तार गर्न सकिए आगामी पाँच वर्षमा कागजी नोट छपाईको आवश्यकता करिब ५० प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ।
नोटको माग घटेसँगै राज्यको खर्चमा पनि उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ। अध्ययनले यस्तो परिवर्तनबाट करिब ४ अर्ब ७३ करोड रुपैयाँसम्म बचत हुन सक्ने प्रक्षेपण गरेको छ। बचत भएको रकम अन्य विकास तथा पूँजीगत क्षेत्रमा परिचालन गर्न सकिने भएकाले डिजिटल मुद्राको आर्थिक प्रभाव भुक्तानी प्रणालीभन्दा बाहिरसम्म पुग्ने देखिन्छ।
राष्ट्र बैंकले प्रस्ताव गरेको डिजिटल रूपैयाँ सर्वसाधारणले प्रयोग गर्न सक्ने ‘रिटेल’ प्रकृतिको हुनेछ। यसको उद्देश्य विद्युतीय भुक्तानीलाई थप व्यवस्थित, सुरक्षित र सहज बनाउनुका साथै नगदमा निर्भरता क्रमशः घटाउनु हो। डिजिटल माध्यमबाट हुने कारोबारलाई थप पारदर्शी बनाउने र आधुनिक भुक्तानी पूर्वाधार विकासमा समेत यसले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
डिजिटल रूपैयाँ कार्यान्वयनमा आएपछि कारोबारको स्वरूपमा मात्र परिवर्तन आउने छैन, मौद्रिक व्यवस्थापनको शैलीमा समेत नयाँ प्रविधिको प्रयोग बढ्नेछ। विश्वका विभिन्न मुलुकले केन्द्रीय बैंक डिजिटल मुद्रा परीक्षण र कार्यान्वयनमा अघि बढिरहेका बेला नेपालको पहललाई पनि डिजिटल अर्थतन्त्रतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।











