कालिका लघुवित्तको नाफामा ३०४ प्रतिशतको उछाल, अन्य वित्तीय सूचक कस्ता ?

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा अत्यन्तै उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो खुद नाफामा सहितका अधिकांश सूचकमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको हो ।
विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १२ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३०४.६० प्रतिशतको उत्साहजनक वृद्धि हो । अघिल्लो आवमा कम्पनीको नाफा मात्र ३ करोड ३ लाख ७१ हजार रुपैयाँ सीमित थियो ।
संस्थाको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा पनि सन्तोषजनक सुधार देखिएको छ । अघिल्लो वर्ष ३५ करोड ६७ लाख ३१ हजार रुपैयाँ रहेको यस्तो आम्दानी ३२.०१ प्रतिशतले बढेर ४७ करोड ९ लाख १८ हजार रुपैयाँ पुगेको छ । यसैगरी संस्थाको सञ्चालन मुनाफा पनि ८ करोड २३ लाख रुपैयाँबाट उल्लेख्य बढ्दै १८ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
वित्तीय अवस्थाको सुदृढीकरणसँगै कम्पनीको जगेडा कोष र चुक्ता पुँजीमा पनि बढोत्तरी भएको छ । कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख ६१ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १० करोड ७ लाख रुपैयाँ र रिजर्भमा २५ करोड २३ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको कुल सम्पत्ति पनि ५ अर्ब २५ करोड रुपैयाँबाट बढेर ५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
यद्यपि निष्कृय कर्जा (एनपीएल) मा भने केही दबाब देखिएको छ । अघिल्लो वर्ष ८.२७ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस वर्ष बढेर ९.७८ प्रतिशत पुगेको छ । त्यस्तै प्रतिशेयर आम्दानी २७.४० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७८.७३ रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड ८२ लाख रुपैयाँ रहेको छ ।











