आश्वासनले फर्किएन बजारः त्रासमा ठुला लगानीकर्ता, यी कारण अझै देखिनेछ गिरावट!

५ भाद्र २०८३, शुक्रबार १५:०६

काठमाडौँ । नेपाली शेयर बजारमा एक दिनको सामान्य सुधारपछि पुनः गिरावट देखिएको छ । अघिल्लो दिन केही सुधारको संकेत दिएको नेप्से परिसूचक आज पुनः राताम्य बन्दा लगानीकर्ताको मनोबलमा देखिएको अन्योल स्पष्ट भएको हो । बजारमा कारोबार गतिविधि सक्रिय रहे पनि खरिदतर्फको उत्साह अपेक्षाकृत कमजोर देखिएको छ । पछिल्लो समय बजारले दिगो उकालो गति लिन नसक्नुमा लगानीकर्ताको बढ्दो सतर्कता, नीतिगत अन्योल र जोखिम लिन अनिच्छा प्रमुख कारणका रूपमा देखिएका छन् ।

शेयर बजारमा लगानी गरिएको रकमको स्रोत खोज्ने क्रममा सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाही अघि बढाइरहेको विषयले लगानीकर्ताको मनोविज्ञानमा थप दबाब सिर्जना गरेको छ । ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालको बैंक खाता रोक्का गरिएको घटनापछि आफ्नो लगानीको स्रोतबारे लगानीकर्तामाझ थप आशंका र त्रास बढेको देखिन्छ । विशेषगरी लगानीको स्रोत स्पष्ट देखाउन नसकिएमा आफू पनि सरकारी अनुसन्धान र कारबाहीको घेरामा पर्न सक्ने डरले कतिपय लगानीकर्ता नयाँ लगानी गर्नबाट पछि हटिरहेका छन् । यसले बजारमा स्वाभाविक रूपमा हुनुपर्ने जोखिम लिने क्षमता कमजोर बनाउँदै ‘पहिले सम्पत्ति सुरक्षित गरौँ, त्यसपछि मात्र नयाँ लगानी गरौँ’ भन्ने मनोविज्ञान विकास गरिरहेको छ । यसको प्रत्यक्ष असर शेयर खरिदको चापमा पर्दा बजारमा बिक्री दबाब बढ्ने र परिसूचक कमजोर बन्ने अवस्था देखिएको हो ।

पूँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि र बजारलाई थप व्यवस्थित बनाउने विषयमा सरकार तथा नियामक निकायबाट सकारात्मक धारणा सार्वजनिक भइरहे पनि त्यसको प्रभाव व्यवहारमा भने अपेक्षाकृत कमजोर देखिएको छ । लगानीकर्ताले केवल सकारात्मक अभिव्यक्ति र आश्वासनभन्दा पनि स्पष्ट नीति, स्थिर नियमन, पारदर्शी कार्यप्रणाली र लगानीमैत्री वातावरणको प्रत्याभूति खोजिरहेका छन् । नीतिगत निर्णय कहिले र कसरी कार्यान्वयन हुन्छ भन्ने विषयमा स्पष्टता नहुँदा सकारात्मक सन्देशले मात्रै बजारमा दीर्घकालीन विश्वास सिर्जना गर्न सकेको छैन ।

यससँगै व्यवसायी तथा ठूला लगानीकर्तामाथि भइरहेको सरकारी अनुसन्धान, कारबाही र धरपकडको समाचारले समग्र व्यावसायिक वातावरणप्रतिको धारणा पनि संवेदनशील बनाएको छ । अनिश्चितता बढ्दा ठूला लगानीकर्ता नयाँ क्षेत्रमा पूँजी विस्तार गर्नुभन्दा आफ्नो विद्यमान सम्पत्ति जोगाउने रणनीतिमा केन्द्रित हुनु स्वाभाविक देखिन्छ । साना लगानीकर्ताको सहभागिता बजारमा रहे पनि सीमित पूँजी, बढ्दो सतर्कता र जोखिमप्रतिको भयका कारण उनीहरूको सक्रियताले बजारमा पर्याप्त खरिद चाप सिर्जना गर्न सकेको छैन । त्यसैले शेयर बजारको अहिलेको गिरावटलाई केवल नेप्सेको दैनिक उतारचढावका रूपमा हेर्नुभन्दा लगानीकर्ताको विश्वास, नीतिगत स्थिरता र सरकारी कारबाहीप्रतिको धारणा जोडिएको व्यापक मनोवैज्ञानिक अवस्थाका रूपमा बुझ्नुपर्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६७ अकंले घटेर २६१८.७२ बिन्दुमा कायम भएको छ । आज ३४४ कम्पनीको १ करोड २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ७१ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् भने एक उपसूचक मात्रै सामान्य बढेको छ । आज म्युचुअल फण्ड समूहको शेयर मूल्य मात्रै ०.०३ प्रतिशतले बढेको हो ।

शुक्रबार ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*