बाढीपहिरोले पूर्वाधारमा २ खर्ब २७ अर्बको क्षति, पुनर्निर्माणका लागि ६३ अर्ब चाहिने

२० आश्विन २०८३, मंगलवार ११:५३

काठमाडौँ । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको छ ।

पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् । उनका अनुसार विपद्बाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि तत्काल करिब ६३ अर्ब रुपैयाँ आवश्यक छ ।

सचिव मैनालीले विपद्बाट आवास, सडक, पुल तथा खानेपानीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिए । प्रारम्भिक मूल्याङ्कनअनुसार निजी तथा सार्वजनिक भवनमा सबैभन्दा बढी क्षति भएको छ । ७ हजार ५७० निजी र ४८ वटा सार्वजनिक भवनमा गरी १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यस्तै, सडक सञ्जालमा २० अर्ब रुपैयाँ, मोटरेबल पुलमा १३ अर्ब ८० करोड, झोलुङ्गे पुलमा २ अर्ब ६५ करोड तथा खानेपानी र सरसफाइ क्षेत्रमा ८७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।

मन्त्रालयका अनुसार समग्र क्षति १.४८ अर्ब अमेरिकी डलर अर्थात् करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबर पुगेको छ । सचिव मैनालीले जलवायुजन्य विपद्बाट भएको क्षतिको यो आकारले जलवायु न्यायका लागि प्राप्त हुने वैदेशिक सहयोगको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको बताए ।

उनले क्षतिको प्रारम्भिक विवरण भएकाले विस्तृत मूल्याङ्कनपछि वास्तविक क्षतिको यकिन तथ्याङ्क आउने बताए । उनका अनुसार कनेक्टिभिटी पुनःस्थापनालाई प्राथमिकतामा राखेर क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये १२ वटा मर्मत भइसकेका छन् ।

बेत्रावती क्षेत्रमा बेलिब्रिज निर्माण भइरहेको र धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म सडक सम्पर्क पुनःस्थापित गर्ने काम अघि बढिरहेको उनले जानकारी दिए । पुनःस्थापनाका लागि आवश्यक जग्गा पहिचान भइसकेको पनि उनले बताए ।

विपद्बाट प्रभावित परिवारका लागि तत्काल करिब ३०० वटा ट्रान्जिसनल सेल्टर निर्माण गर्ने तयारी भइरहेको छ । आगामी दसैँअघि नै ती अस्थायी आवास निर्माण गर्ने गरी डिजाइन तथा निर्माणको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

सडक तथा पुलसहितको कनेक्टिभिटी सुधारलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको सचिव मैनालीले बताए । त्रिशूली करिडोरमा अवरुद्ध सडक खुलाउने तथा बेलिब्रिज निर्माणलाई तीव्रता दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*