गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन सोमबार अपराह्न भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिमस्टेक) अन्तर्गत आयोजना हुन लागेको उक्त बैठक मंगलबार, अक्टोबर १३ मा नयाँदिल्लीमा हुँदैछ ।
बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरू सहभागी हुने कार्यक्रम छ । सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक आयोजना हुन लागेको हो ।
बैठकमा क्षेत्रीय सुरक्षा, आतङ्कवाद नियन्त्रण, सीमापार अपराध नियन्त्रण तथा सदस्य राष्ट्रका सुरक्षा निकायबीच समन्वय र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
गृहमन्त्रीको पदभार सम्हालेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो ।











