सिटिजन लाइफको झण्डै २८ लाख कित्ता शेयर बिक्रीमा

३० आश्विन २०८३, शुक्रबार ०७:३८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ लाख ९३ हजार ३६१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको हो।

कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको १३४औँ बैठकको निर्णयअनुसार शेयर बिक्री प्रक्रिया अघि बढाइएको हो। कम्पनीले असोज २९ गते सूचना प्रकाशित गर्दै इच्छुक संस्थापक शेयरधनीलाई आवेदन दिन आह्वान गरेको छ।

उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिँदा आफूले कति मूल्यमा शेयर खरिद गर्न चाहेको हो सो दररेटसमेत खुलाउनुपर्नेछ। साथै नेपाल बीमा प्राधिकरणले तोकेको योग्यता पूरा गरेको प्रमाणित गर्ने आवश्यक कागजात पनि पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित काठमाडौंको थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा कार्यालय समयभित्र आवेदन बुझाउन सक्नेछन्।

तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा वा शेयर खरिद प्रक्रिया अघि नबढेमा प्रचलित कानुनअनुसार संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति वा संस्थालाई समेत शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*