एनआइएमबि एस क्यापिटलले २० प्रतिशत नगद लाभांश दिने, कात्तिक २० गते साधारणसभा

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले शेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक २० गते शुक्रबार १४औँ वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको साधारणसभा कात्तिक २० गते बिहान ११ः३० बजे काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको सभाहलमा बस्नेछ। असोज २७ गते बसेको सञ्चालक समितिको १५७औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ।
त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरेअनुसार कम्पनीको चुक्ता पुँजीको २० प्रतिशतका दरले २० करोड रुपैयाँ नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ। उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ। यसैगरी आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिएको अनुदान रकमलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस गरिनेछ।











