हकप्रद शेयर र मर्जरमा प्रस्ताव सहित नारायणी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने प्रस्ताव अघि बढाएको छ। बैंकले २३औँ र २४औँ वार्षिक साधारणसभा आगामी कात्तिक २७ गते शुक्रबार बोलाएको छ। बैंकको सञ्चालक समितिको असोज २३ गते बसेको बैठकले दुवै आर्थिक वर्षका वार्षिक साधारणसभा एकै दिन गर्ने निर्णय गरेको हो। सभा चितवनको भरतपुर–१२, बसन्त चोकस्थित स्मार्ट गार्डेन एन्ड रेस्टुरेन्टमा बिहान ११ बजे बस्नेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ। साथै लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने र नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि राखिएको छ। रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट नियुक्त भएका व्यक्तिको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ।
बैंकले नियामक निकायले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्न आवश्यक रकम जुटाउने उद्देश्यले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ। यसअघि जारी गरिएको हकप्रद शेयरमध्ये बिक्री हुन बाँकी शेयरको लिलामी प्रक्रिया पूरा भएपछि आवश्यकताअनुसार थप हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव सभामा पेस हुनेछ। यसका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्नेछ।
त्यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति गर्ने सम्भावनासमेत अघि बढाउने भएको छ। यसका लागि उपयुक्त संस्था र लगानीकर्ता पहिचान गर्ने, छलफल तथा सम्झौता गर्ने, सम्पत्ति र दायित्वको मूल्याङ्कन गराउने तथा आवश्यक नियामकीय स्वीकृति लिने काम अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव राखिएको छ। बैंकको पूँजी, व्यवसाय र संस्थागत क्षमता बढाउन रणनीतिक साझेदार वा नयाँ लगानीकर्ता भित्र्याउने विकल्प पनि खुला राखिएको छ।
साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १३ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसैले कात्तिक १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई बैंकको शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलमा प्राप्त विवरणअनुसार कायम शेयरधनी मात्रै साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।











