सिटिजन लाइफका दुई संस्थापक शेयरधनीको २७ लाख ६० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन्। कम्पनीका अनुसार यति वर्ल्ड इन्भेष्टमेन्ट प्रा। लि। र शुष्मा राणाले संस्थापक शेयर बिक्री गर्न चाहेका हुन्।
कम्पनीमा प्राप्त विवरणअनुसार यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिले ९ लाख ६० हजार २८ कित्ता शेयर बिक्री गर्न चाहेको छ भने शुष्मा राणाले १८ लाख कित्ता शेयर बिक्री गर्ने मनसाय व्यक्त गरेकी छन्।
नेपाल धितोपत्र बोर्डको २०८३ असोज २३ गतेको निर्देशनअनुसार कम्पनीले संस्थापक शेयरधनीको शेयर बिक्रीसम्बन्धी जानकारी सार्वजनिक गर्न लागेको हो।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ बमोजिम लकइन अवधि समाप्त भएपछि प्रारम्भिक सार्वजनिक निष्काशनका समयमा कायम रहेका आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्न चाहेमा कम्तीमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। त्यस्तै, कम्पनीले शेयर बिक्रीसम्बन्धी सूचना प्राप्त गरेपछि यथाशीघ्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।











