दसैं–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड गोप्य राख्न राष्ट्र बैंकको आग्रह

१ कार्तिक २०८३, शनिबार ०७:४४

काठमाडौं । दसैं, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीको जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । चाडपर्वमा डिजिटल कारोबार बढ्ने भएकाले ठगीबाट जोगिन बैंक खाताको पासवर्ड, ओटीपी तथा डिजिटल वालेटको पिन गोप्य राख्न इकाइले सुझाव दिएको हो ।

बैंकिङ कारोबारको विश्लेषणका क्रममा अनलाइन ठगीका घटना बढिरहेको उल्लेख गर्दै इकाइले चाडपर्वका अवसरमा सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट ठगी गर्नेहरू सक्रिय हुन सक्ने जनाएको छ ।

इकाइका अनुसार दसैं धमाका, तिहार–छठ बम्पर उपहार वा आकर्षक पुरस्कार जितेको भन्दै सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाउने र सेवा शुल्क वा करका नाममा अग्रिम रकम माग्ने प्रवृत्ति देखिन सक्छ । यस्ता प्रलोभनमा परेर सर्वसाधारण ठगीमा पर्न सक्ने भएकाले शङ्कास्पद सन्देश र लिंकबाट सावधान रहन आग्रह गरिएको छ ।

त्यस्तै, बैंक वा डिजिटल वालेटको नक्कली वेबसाइट बनाएर केवाईसी विवरण अद्यावधिक नगरे खाता बन्द हुने भन्दै ग्राहकलाई डर देखाउने जोखिम पनि रहेको इकाइले जनाएको छ । यस्ता माध्यमबाट पासवर्ड, ओटीपी तथा व्यक्तिगत विवरण चोरेर बैंक तथा वित्तीय संस्था र डिजिटल वालेटमा रहेको रकम चोरी हुन सक्ने भएकाले आधिकारिक माध्यमबाट मात्र विवरण अद्यावधिक गर्नुपर्ने इकाइको सुझाव छ ।

सामाजिक सञ्जालमा ब्रान्डेड सामानमा भारी छुट दिने विज्ञापन राखेर अग्रिम भुक्तानी माग्ने र रकम लिएपछि सामान नपठाउने वा ग्राहकलाई ब्लक गर्ने घटनाबाट पनि सचेत रहन इकाइले आग्रह गरेको छ । त्यस्तै, अरू व्यक्तिको नागरिकता, फोटो वा किर्ते कागजात प्रयोग गरी नक्कली खाता खोलेर आपराधिक गतिविधि गर्ने जोखिमसमेत औँल्याइएको छ ।

इकाइले मोबाइलमा आउने ओटीपी, बैंक खाताको पासवर्ड तथा डिजिटल वालेटको पिन कसैलाई पनि नदिन सुझाव दिएको छ । निःशुल्क रिचार्ज, चिट्ठा परेको वा उपहार जितेको भन्दै सामाजिक सञ्जालमा आउने शङ्कास्पद लिंक नखोल्न पनि आग्रह गरिएको छ ।

अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक र विश्वसनीय वेबसाइट प्रयोग गर्न तथा सम्भव भएसम्म सामान प्राप्त भएपछि भुक्तानी गर्ने विकल्प रोज्न इकाइले सुझाएको छ । डिजिटल भुक्तानी गर्नुअघि सम्बन्धित वेबसाइटको ठेगाना सही भए–नभएको जाँच गर्न पनि सूचनामा उल्लेख गरिएको छ ।

सर्वसाधारणसँगै बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकलाई पनि इकाइले सतर्कता अपनाउन आग्रह गरेको छ । डिजिटल माध्यमबाट खाता खोल्दा ग्राहकको पहिचानसम्बन्धी विवरण प्रमाणीकरण गर्न, एउटै ठेगाना वा मोबाइल नम्बर प्रयोग गरी फरक–फरक नाममा धेरै खाता खोलिएको अवस्थामा निगरानी बढाउन तथा शङ्कास्पद कारोबार पहिचान गर्ने प्रणाली प्रभावकारी बनाउन सुझाव दिइएको छ ।

चाडपर्व सुरु हुनुअघि बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सम्भावित ठगीका ढाँचा पहिचान गर्ने तालिम दिन र एसएमएस तथा सामाजिक सञ्जालमार्फत ग्राहकलाई सचेत गराउन पनि इकाइले आग्रह गरेको छ ।

अनलाइन ठगीमा परेको शङ्का लागेमा ढिलाइ नगरी सम्बन्धित बैंक तथा वित्तीय संस्था वा डिजिटल वालेट प्रदायकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी खाता वा वालेट रोक्का गर्न अनुरोध गर्न इकाइले सुझाव दिएको छ । साथै, नेपाल प्रहरीको साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*