स्वाभिमान लघुवित्तले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने, मर्जरको प्रस्तावसहित बोलायो साधारण सभा

१२ कार्तिक २०८३, बिहीबार ०८:३४

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चुक्ता पुँजी बढाउन शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ । संस्थाको सञ्चालक समितिले हाल कायम चुक्ता पुँजी बराबरकै अनुपातमा थप शेयर निष्कासन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो ।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार दशौं वार्षिक साधारण सभा आगामी मंसिर १४ गते सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोलस्थित द एसआर होटलमा बिहान ११ बजे बस्नेछ ।

सभामा हाल कायम १५ करोड ३४ लाख ४५ हजार ५०९ रुपैयाँ चुक्ता पुँजीलाई आधार बनाएर १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ । प्रस्ताव पारित भएमा योग्य शेयरधनीले आफ्नो स्वामित्वमा रहेको प्रत्येक एक कित्ता शेयर बराबर थप एक कित्ता हकप्रद शेयर पाउने व्यवस्था हुनेछ । यद्यपि, शेयर निष्कासनका लागि सम्बन्धित निकायको स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।

हकप्रद शेयर जारी गर्ने प्रस्तावसँगै संस्थाले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विषयसमेत छलफलको कार्यसूचीमा राखिएको छ ।

त्यसैगरी, अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका वित्तीय संस्थासँग गाभिने वा कुनै संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । नियामक निकायबाट संशोधनसम्बन्धी प्रस्तावमा परिवर्तन गर्न निर्देशन आएमा आवश्यक परिमार्जन गर्न सक्ने अख्तियारीसमेत सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव राखिएको छ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही अवधिको लेखापरीक्षणसहितको वित्तीय विवरण स्वीकृत गर्ने तथा आगामी लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने विषय पनि समावेश छन् ।

यसका अतिरिक्त सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछ ।

संस्थाले साधारण सभा तथा मतदानमा सहभागी हुन योग्य शेयरधनीको पहिचानका लागि मंसिर २० गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा मंसिर १९ गतेसम्म कारोबार भई प्रचलित कानुनअनुसार शेयर नामसारी भएका शेयरधनीले मात्र सभामा सहभागी हुन र मतदान गर्न पाउनेछन् ।

रूपन्देहीको तिलोत्तमा–५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*