अछाममा १९ प्रतिशत मात्रै काम गर्ने ठेकेदारको ठेक्का तोडियो, ३८ करोड दाखिला गर्न पत्राचार

१२ कार्तिक २०८३, बिहीबार ०८:४३

काठमाडौं । अछामको मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणमा चरम ढिलाइ भएपछि निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरिएको छ । निर्धारित समय र थपिएको म्यादभित्र पनि कामले गति लिन नसकेपछि सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोड्ने निर्णय गरेको हो ।

२०७९ वैशाख १६ गते सम्झौता भएर निर्माण सुरु भएको उक्त सडकको काम २०८२ वैशाख १६ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर निर्धारित अवधिमा निर्माण पूरा नभएपछि म्याद थप गरेर २०८३ वैशाख १६ गतेसम्म पुर्‍याइएको थियो । थपिएको समयसीमासमेत गुज्रिँदा सडकको भौतिक प्रगति १९.८३ प्रतिशतमा मात्र सीमित रह्यो ।

निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन निर्देशन दिँदा पनि सडक कटान र आवश्यक संरचना निर्माणले अपेक्षित गति लिन नसकेको कार्यालयले जनाएको छ । त्यसपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का अन्त्य गर्ने निर्णय लिएको हो ।

करिब १० किलोमिटर लामो सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । तर निर्माण कार्य अत्यन्त सुस्त भएपछि आयोजना अधुरै रहँदा कार्यालयले निर्माण व्यवसायीबाट ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ ।

यसैबीच, सडक डिभिजन कार्यालय साँफेबगरले लामो समयदेखि अलपत्र रहेका अन्य सडक तथा पुल निर्माणका योजनामा पनि ठेक्का सम्झौता अन्त्य गरेको छ । कार्यालयमार्फत सञ्चालन भएका ६ वटा रुग्ण ठेक्का खारेज गरिएको जनाइएको छ ।

विसं २०७६ देखि निर्माण कार्य अलपत्र परेका योजनासमेत ठेक्का अन्त्यको दायरामा परेका छन् । ठेक्का तोडिएका आयोजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक र मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*