घाटाबाट नाफामा फर्कियो गोर्खाज फाइनान्स: तीन महिनामै कमायो ६ करोड ७४ लाख, अधिकांश सूचकमा सुधार

१५ कार्तिक २०८३, आईतवार ०६:३२

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफासहित अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड २४ लाख १५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ७४ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ७६ लाख ३२ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ९ करोड ७४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, शुल्क तथा कमिसनबाट हुने आम्दानी ८९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । यससँगै खुद ब्याज, शुल्क तथा कमिसन आम्दानी १० करोड ६४ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८ करोड ६३ लाख २३ हजार रुपैयाँमा सीमित थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १० करोड ७६ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ करोड ७१ लाख १३ हजार रुपैयाँ थियो । कम्पनीले १२ करोड ४७ लाख २६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । त्यस्तै, करअघिको नाफा ९ करोड ९६ लाख ७३ हजार रुपैयाँ पुगेको छ । करबापत ३ करोड २२ लाख ४ हजार रुपैयाँ खर्च छुट्याएपछि कम्पनीको खुद नाफा ६ करोड ७४ लाख ६९ हजार रुपैयाँ कायम भएको हो ।

कम्पनीको कर्जा प्रवाहमा समेत वृद्धि देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा ५९ करोड ८८ लाख ९३ हजार रुपैयाँ रहेको ग्राहक कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ६१ करोड ४४ लाख २० हजार रुपैयाँ पुगेको छ । यता, ग्राहकबाट संकलित निक्षेप भने ९३ करोड ८१ लाख ८२ हजार रुपैयाँबाट घटेर ९२ करोड ४९ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, कम्पनीको कुल सम्पत्ति १ अर्ब १० करोड ७५ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति १ अर्ब ११ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ भने कुल स्वपुँजी १५ करोड १७ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

वित्तीय जोखिम व्यवस्थापनका सूचकमा पनि सुधार देखिएको छ । कम्पनीको खराब कर्जाको अनुपात २०.९४ प्रतिशतबाट घटेर १३.४५ प्रतिशतमा झरेको छ । खुद खराब कर्जाको अनुपात पनि ५.४४ प्रतिशतबाट घटेर ३.३५ प्रतिशत कायम भएको छ । त्यस्तै, कुल खराब कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्थाको अनुपात ८४.९६ प्रतिशतबाट बढेर ८७.५७ प्रतिशत पुगेको छ ।

कम्पनीको कोष लागत ४.६४ प्रतिशतबाट घटेर ३.२४ प्रतिशतमा झरेको छ भने आधार दर ८.१५ प्रतिशतबाट घटेर ६.१० प्रतिशत कायम भएको छ । कर्जा तथा निक्षेप अनुपात भने ७१.३० प्रतिशतबाट बढेर ७३.६७ प्रतिशत पुगेको छ । त्यस्तै, पुँजी कोष अनुपात १०.७८ प्रतिशतबाट बढेर १७.५१ प्रतिशत पुगेको छ ।

यसैगरी, कम्पनीको स्वपुँजीमा प्रतिफल १४.५७ प्रतिशत ऋणात्मक रहेकोमा बढेर १७.७९ प्रतिशत सकारात्मक भएको छ । सम्पत्तिमा प्रतिफलसमेत १.६१ प्रतिशत ऋणात्मकबाट सुधार भई २.४५ प्रतिशत पुगेको छ ।

प्रतिशेयर आम्दानी ३१.०९ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*