छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

१९ कार्तिक २०८३, बिहीबार ०९:०२

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट शेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समितिको ३४५औं बैठकले हाल कायम चुक्ता पूँजीको ११.९६३१ प्रतिशत बोनस शेयर र १३.०३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। संस्थाको कात्तिक १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।

हाल संस्थाको चुक्ता पूँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा रहेको छ। प्रस्तावित बोनस शेयरको मूल्य ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै नगद लाभांशतर्फ ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा वितरण गर्ने प्रस्ताव गरिएको छ।

नगद लाभांशमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको कम्पनीले जनाएको छ। यसअनुसार संस्थाले कुल ९० करोड ४३ लाख १६ हजार २५ रुपैयाँ ३८ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश प्रस्तावसँगै संस्थाले आर्थिक वर्ष २०८२÷८३ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*