नेशनल लघुवित्तको नाफा १९ करोड ५ लाख, प्रतिशेयर आम्दानी ५० रुपैयाँ पुग्यो

१९ कार्तिक २०८३, बिहीबार ०८:५४

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १९ करोड ५ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.०५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले १४ करोड ४२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी १७.६२ प्रतिशतले बढेर ४९ करोड ७८ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४२ करोड ३२ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको कुल सञ्चालन आम्दानी ५८ करोड ४१ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४८ करोड ४७ लाख ३४ हजार रुपैयाँ थियो । यस अवधिमा सञ्चालन आम्दानी २०.५० प्रतिशतले बढेको देखिन्छ ।

संस्थाको सञ्चालन नाफा पनि ३२.०५ प्रतिशतले बढेर २७ करोड २१ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो नाफा २० करोड ६१ लाख २४ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा ब्याज आम्दानी ८७ करोड ९३ लाख २२ हजार रुपैयाँ रहेको छ भने ब्याज खर्च ३८ करोड १५ लाख १ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा संस्थाको कर्जा तथा सापटी प्रवाह २ हजार ८७८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा २ हजार ७९६ करोड ६६ लाख २७ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, ग्राहकबाट संकलित निक्षेप ८१० करोड ५६ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा निक्षेप ८०० करोड ३३ लाख ४० हजार रुपैयाँ थियो ।

संस्थाको कुल सम्पत्ति ३ हजार २५४ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यमा कुल सम्पत्ति ३ हजार ४७४ करोड ५६ लाख ७६ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा संस्थाको कुल दायित्व २ हजार ८११ करोड ३७ लाख ९० हजार रुपैयाँ रहेको छ ।

संस्थाको चुक्ता पुँजी १५२ करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा तथा सञ्चित कोषमा १८५ करोड ७८ लाख २६ हजार रुपैयाँ र कायम रहेको वितरणयोग्य नाफासहितको सञ्चित मुनाफा १०५ करोड ५३ लाख २१ हजार रुपैयाँ रहेको छ । कुल सेयरधनीकोष ४४३ करोड ४५ लाख १० हजार रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ०९ पैसा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४३ रुपैयाँ ३४ पैसा थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ २९१ रुपैयाँ ४८ पैसा रहेको छ ।

खराब कर्जातर्फ संस्थाको निष्क्रिय कर्जा अनुपात ४.९४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो अनुपात ४.९६प्रतिशत रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*