लाभांश पारित गर्न अपि पावरले बोलायो साधारणसभा, हकप्रद निष्कासन योजना रद्द गरिने

२० कार्तिक २०८३, शुक्रबार १०:०६

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आगामी मंसिर १८ गते २३औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँका आधारमा ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ ९५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १ करोड ६७ लाख ८८ हजार ७४८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

सभामा कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषय पनि सभाको कार्यसूचीमा छ।

यसैगरी कम्पनीले यसअघि घोषणा गरेको हकप्रद शेयर निष्कासन गर्ने योजना रद्द गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ। कम्पनीको २२औं वार्षिक साधारणसभाले विद्यमान चुक्ता पूँजीको १ कित्ता बराबर ०.३० कित्ताका दरले हकप्रद शेयर जारी गरी त्यसबाट प्राप्त रकम दिव्यज्योति हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको थियो।

तर हकप्रद शेयर निष्कासनका लागि नियामकीय अनुमति प्राप्त गर्न लामो समय लाग्ने देखिएपछि आयोजना निर्माणमा ढिलाइ हुन सक्ने कम्पनीको भनाइ छ। कम्पनीले आन्तरिक नगद प्रवाह, बैंक ऋण तथा अन्य स्रोतबाट आयोजनाका लागि आवश्यक स्वपूँजीको व्यवस्था भइसकेको जनाउँदै यसअघि प्रस्ताव गरिएको १ः०.३० अनुपातको हकप्रद शेयर निष्कासन रद्द गर्ने प्रस्ताव गरेको हो।

बोनस शेयर जारी गर्दा कम्पनीको पूँजी संरचनामा परिवर्तन हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। त्यस्तै सञ्चालक समितिमा रिक्त पदमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्च अनुमोदन गर्ने प्रस्तावसमेत रहेको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसैले मंसिर ७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई तोकिएको तीन कार्यदिनभित्र शेयर नामसारी प्रक्रिया पूरा गरेका शेयरधनीले सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*