आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

२२ कार्तिक २०८३, आईतवार ०८:५८

काठमाडौं । तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान अरुणोदयकालमा नरक स्नान गरी कुकुर तिहार मनाइँदैछ भने साँझ घरघरमा दीप प्रज्वलन गरी लक्ष्मीपूजा गरिँदैछ।

हिन्दू धर्म र संस्कृतिमा कुकुरलाई बफादार तथा मानव सुरक्षाको महत्वपूर्ण सहयोगीका रूपमा लिने परम्परा छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूतका रूपमा सम्मान गर्दै यस दिन पूजा गर्ने चलन छ। कुकुरले घरको सुरक्षा गर्नुका साथै आधुनिक समयमा अपराध अनुसन्धान तथा सुरक्षा निकायका विभिन्न काममा समेत सहयोग पुर्‍याउँदै आएका छन्।

कुकुर तिहारका दिन बिहानै स्नान गरी दीप प्रज्वलन गरेर नदीमा बगाउने परम्परा पनि छ। शास्त्रीय मान्यताअनुसार यसरी नरकमा बत्ती बगाउँदा मृत्युपछि नरकको यातना भोग्नु नपर्ने विश्वास गरिन्छ।

यसैबीच, गाईपूजा भने भोलि मनाइने भएको छ। गोरुपूजा, हलितिहार, गोवर्धनपूजा, बलिपूजा र आत्म अर्थात् म्हपूजा कात्तिक २४ गते मंगलबार मनाइनेछ।

शास्त्रीय मान्यताअनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन पर्वत र आत्मपूजा गर्ने परम्परा रहेको छ। यसै दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने मान्यताअनुसार नेपाल संवत् ११४४ पनि सुरु हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*