जीवन बीमालेख समर्पण रकम ११.५० प्रतिशतले बढ्यो, १० लाखभन्दा बढी बीमालेख व्यतीत

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा जीवन बीमालेख समर्पण (सरेन्डर) गर्ने संख्या र रकम दुवै बढेको छ। तर समयमा बीमाशुल्क नबुझाउँदा व्यतीत (ल्याप्स) हुने बीमालेखको संख्यामा भने कमी आएको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार असोज मसान्तसम्म २३ हजार ७९५ वटा जीवन बीमालेख समर्पण भएका छन्। ती बीमालेखबापत बीमा कम्पनीहरूले ३ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा २२ हजार ९९९ वटा बीमालेख समर्पण हुँदा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ भुक्तानी भएको थियो। यससँग तुलना गर्दा चालु आर्थिक वर्षमा बीमालेख समर्पण गर्ने संख्या ३.४६ प्रतिशत र समर्पणबापत भुक्तानी भएको रकम ११.५० प्रतिशतले बढेको छ। अर्थात् बीमितले बीमा अवधि पूरा हुनुअघि नै पोलिसी त्यागेर रकम फिर्ता लिने क्रम बढेको देखिन्छ।

अर्कोतर्फ समयमा बीमाशुल्क नबुझाउँदा व्यतीत हुने बीमालेखको संख्यामा भने सुधार देखिएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म १० लाख १६ हजार ७१२ वटा बीमालेख व्यतीत भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १२ लाख २० हजार ५४८ रहेको थियो। यसअनुसार व्यतीत बीमालेखको संख्या १६.७० प्रतिशतले घटेको हो।
रकमका आधारमा पनि व्यतीत बीमालेख घटेका छन्। गत वर्ष असोज मसान्तसम्म ३६ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ बराबरका बीमालेख व्यतीत भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा यो रकम घटेर ३६ अर्ब १३ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ। यो गत वर्षको तुलनामा १.७८ प्रतिशतले कम हो।
यस तथ्यांकले बीमितहरूले बीमालेख निरन्तरता दिने क्रम बढेको देखाए पनि समयअगावै बीमा पोलिसी त्यागेर रकम फिर्ता लिने प्रवृत्ति भने बढिरहेको देखाएको छ। बीमितको आर्थिक अवस्था, बीमालेखसम्बन्धी पर्याप्त जानकारी तथा उचित परामर्शको अभावलगायत कारणले गर्दा बीमालेख सरेण्डर गर्ने क्रम बढ्दै गएको देखिएको हो।











