छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२९ कार्तिक २०८३, आईतवार ०८:१७

काठमाडौं । सूर्यदेवको उपासना, आस्था र निष्ठाको पर्व छठ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। छठ पर्वको मुख्य दिन अर्थात् कार्तिक शुक्ल षष्ठीका अवसरमा आज साँझ व्रतालुहरूले नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाउने गरिन्छ।

चार दिनसम्म विभिन्न विधि र प्रक्रियासहित मनाइने छठ पर्व शुक्रबारदेखि नहाय–खाय विधिबाट शुरु भएको हो। पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गरिन्छ भने शनिबार दोस्रो दिन खरना विधि सम्पन्न गरिएको छ। खरनाका दिन दिनभर उपवास बसेर साँझ दूध, चामल र सख्खरबाट तयार पारिएको खीर तथा गहुँको रोटी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ।

आज तेस्रो दिन व्रतालुहरू दिनभर व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व मनाउने गरिन्छ। यसका लागि ठेकुवा, भुसुवा, केरा, उखु, नरिवल, अदुवा, सुन्तलालगायतका फलफूल तथा पूजा सामग्री बाँसको ढकी र नाङ्लोमा सजाएर घाटमा लैजाने गरिन्छ। सूर्यास्तको समयमा जलाशयमा उभिएर सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै अर्घ्य अर्पण गरिन्छ।

छठ पर्वको अन्तिम दिन भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन हुनेछ। यससँगै चार दिनसम्म चल्ने छठ पर्व सम्पन्न हुनेछ। व्रतालुहरूले सन्तानको सुख, परिवारको कल्याण, सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने विश्वासका साथ यो कठिन व्रत बस्ने गर्छन्। छठ पर्वका अवसरमा सरकारले आज आइतबार र भोलि सोमबार सार्वजनिक बिदासमेत दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*