हिमालय डिष्टिलरीले पहिलो त्रैमासमै कमायो साढे २१ करोड नाफा

काठमाडौं । हिमालय डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा १३८ प्रतिशतभन्दा बढीले बढेर २१ करोड ४९ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै नाफामा पनि उल्लेख्य सुधार देखिएको हो। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७६ करोड २८ लाख ६३ हजार रुपैयाँ कुल कारोबार गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो कारोबार १ अर्ब ७ करोड ५७ लाख ८८ हजार रुपैयाँ थियो। यसअनुसार कम्पनीको कुल कारोबार करिब ६३.८७ प्रतिशतले बढेको छ।
त्यस्तै अन्तःशुल्क कटाएपछिको खुद बिक्री आम्दानी पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ५९ करोड ३३ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष बढेर ९१ करोड २८ लाख २० हजार रुपैयाँ पुगेको छ।
व्यापार विस्तारसँगै कम्पनीको सञ्चालन नाफामा पनि उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले ३३ करोड ८५ लाख ४५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा १२ करोड ५७ लाख ९१ हजार रुपैयाँ थियो। त्यस्तै कम्पनीको कुल नाफा ६० करोड ४३ लाख ८५ हजार रुपैयाँ पुगेको छ। कम्पनीले समीक्षा अवधिमा १० करोड ६३ लाख ८५ हजार रुपैयाँ आयकर तिरेको छ।
नाफामा भएको वृद्धिको प्रभाव कम्पनीको प्रतिशेयर आम्दानीमा पनि देखिएको छ। गत वर्ष ९ रुपैयाँ ७९ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष बढेर २३ रुपैयाँ ३२ पैसा पुगेको छ। त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४९ पैसा कायम भएको छ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको छ। जगेडा तथा सञ्चित कोषमा १ अर्ब ७५ करोड १३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको कुल सम्पत्ति ६ अर्ब २९ करोड ४६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। कम्पनीको तरलता अनुपात ६.३६ रहेको वित्तीय विवरणमा उल्लेख छ।











