मंसिर २९ गतेदखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९% नबिल डिबेन्चर २०८७’ बिक्री गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । यसमध्ये ६० प्रतिशत (१ अर्ब ८० करोड रुपैयाँ) बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । बैंकको बाँकी रहेको ४० प्रतिशत (१ अर्ब २० करोड रुपैयाँ) बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत (६० हजार) कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा पुस ३ र ढिलोमा पुस १३ गते हुने बैंकले जनाएको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । उक्त ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिनेछ ।











