नेप्से सीईओ सुवेदीको प्रतिबद्धता : २१ बुँदे पुँजीबजार सुधार योजना कार्यान्वयनमा पहल गर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले पुँजीबजार सुधारका लागि अर्थ मन्त्रालयले तयार पारेको २१ बुँदे कार्ययोजना कार्यान्वयनलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले बजारको विकास र सुधारका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग सहकार्य गर्दै कार्ययोजनालाई अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा सीईओ सुवेदीले पुँजीबजारका समस्या समाधान गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए। नेप्से कार्यालयमा भएको भेटमा एसोसिएसनका पदाधिकारीले उनलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा एसोसिएसनका अध्यक्ष सागर ढकालले पुँजीबजारको सुधारका लागि सरकारले अघि सारेका नीतिगत योजनालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याए। २१ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वयनले बजारमा देखिएका समस्या न्यूनीकरण गर्न, लगानीकर्ताको भरोसा बढाउन तथा कारोबार प्रणालीलाई थप पारदर्शी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।
ढकालले पुँजीबजारको विकासलाई गति दिन नियामक निकाय, नेप्से, धितोपत्र दलाल व्यवसायी र अन्य सम्बन्धित संस्थाबीच सहकार्य बलियो हुनुपर्नेमा जोड दिए। नीतिगत निर्णय मात्र पर्याप्त नहुने भन्दै उनले त्यसको व्यावहारिक कार्यान्वयन र संस्थागत समन्वयलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताए।











