जाजरकोटका भूकम्प पीडितले सहुलियतमा पाउनेछन् कर्जा, यस्तो छ राष्ट्र बैंकको नीति

२२ मंसिर २०८०, शुक्रबार ११:२३


काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा आज सार्वजनिक गरेको छ । केन्द्रिय बैंक सञ्चालक समितिको आज बसेको बैठकको निर्णयले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

सार्वजनिक मौद्रिक नीति अनुसार कात्तिक १७ गतेको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनःनिर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा उपलब्ध गराउने भएको छ ।

केन्द्रिय बैंकले आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरेको छ । साथै, बैंकले यस प्रयोजनको लागि साविकको कर्जा धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने केन्द्रिय बैंकले जनाएको छ ।

यसैगरी, कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९।८० र २०८०।८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*