ब्याजदर घटाउने कुमारी बैंकको निर्णय, यस्तो छ आजैदेखि लागू हुने नयाँ ब्याजदर

काठमाडौं । कुमारी बैंकले ब्याजदर मंसिर २४ गतेदेखि नै लागू हुने गरी घटाउने निर्णय गरेको छ । बैंकले आज सूचना प्रकाशित गर्दै ब्याजदर घटाउने निर्णय गरेको हो । निक्षेपको ब्याजदर आज अर्थात मंसि २४ गतेबाट नै लागू हुनेछ भने कर्जाको ब्याजदर यही पुस १ गतेदेखि घट्नेछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत ब्याजदर घटाउने योजनासहित बैंकदर, नीतिगत दर र निक्षेपको बोल कबोल दर घटाएसँगै कुमारी बैंकले ब्याजदर घटाउने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आएसँगै ब्याजदर घटाउने कुमारी बैंक पहिलो बैंक बन्न सफल भएको छ ।
आजदेखि लागू हुने नयाँ ब्याजदर अनुसार एक बर्ष भन्दा बढी अवधीको मुद्धति निक्षेपको ब्याजदर ९.६१० प्रतिशत कायम गरेको छ । यसअघि १०.०१० प्रतिशतले रहेको मुद्दति निक्षेपको ब्याजदर घटाइएको हो ।
त्यस्तै, एक महिनादेखि छ महिनासम्मको मुद्धति निक्षेपमा भने बैंकले ९.०१० प्रतिशत ब्याजदर दिनेछ । बैंकले बचत खाताको ब्याजदर पनि ०.८ प्रतिशतले घटाएको छ । हालसम्म बचत खातामा ७.५१ प्रतिशत ब्याजदर दिँदै आएको बैंकले अब अर्थात मंसिर २४ गतेदेखि भने ६.७१ प्रतिशत कायम गरेको छ ।
कुमारी बैंकका सिईओ रामचन्द्र खनालले बैंकले आजदेखि लागू गरेको निक्षेपको ब्याजदरका कारण बेस रेट घट्ने र बेसरेट घट्ने वित्तिकै पुस १ गतेदेखि सबै प्रकारको ऋणीहरुको ब्याजदर घट्ने जानकारी दिए । ब्याजदर घटेसँगै लगानीकर्ताहरु थप आशावादी बन्ने देखिएको छ ।













