फरवार्ड माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारण सभा सम्पन्न

१ माघ २०८०, सोमबार ११:३०

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् ।

साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले वर्तमान विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाहरुले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्याएर मुलुकको आर्थिक सुधारमा टेवा दिएको बताइन् । गाउँघरमा छरिएर रहेका स–साना पुँजीहरुलाई एकीकृत गरि लघुवित्त संस्थाहरुले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने पनि बताइन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएकाहरुलाई विभिन्न अफवाहहरु फैलाउँदै ऋण नतिर्न उक्साउनेहरुले नियम कानुन विपरित समाजमा अराजकता फैलाइरहेको भन्दै पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीले लघुवित्त संस्थाहरुले पनि बचतकर्ता र ठूला बैंकहरुबाट कर्जा लिएरै ऋण प्रवाह गरेकाले कसैले ऋण तिर्नु पर्दैन भन्दैमा त्यस्तो भ्रममा पर्न नहुने जिकीर गरिन् ।

विशिष्ट अतिथि गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी प्रमुख आशनारायण चौधरीले यस लघुवित्त संस्थाले विपन्न ग्राहक सदस्यहरुको जीवनस्तर उकास्ने र युवाहरुलाई रोजगारी दिइरहेकोमा सन्तोष व्यक्त गर्दै वर्तमान समयमा नेपालकै लघुवित्त क्षेत्रमा देखिएका विषम अवस्थालाई चिर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए ।

प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले लघुवित्तको क्षेत्रमा देखिएको वित्तीय जटिलताहरु विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताउँदै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, तथा ग्राहक सदस्यहरुको संयुक्त प्रयासबाट लघुवित्त संस्थालाई नकारात्मक प्रभाव पार्न खोज्ने तत्व निस्तेज हुँदै गएको बताए । सो क्रममा उनले साधारण सभामा प्रस्तुत सुझावहरुलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । सभामा सञ्चालक सदस्यद्वय बलराम चौधरी, प्रा.डा.श्यामकुमार महतो र संस्थापक शेयरधनी पुरुषोत्तम चौधरीले मन्तव्य राखेका थिए ।

साधारण सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । भने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०।८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई समेत पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*