कुमारी बैंकको मुनाफा ८६ करोडमाथि, ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्जले घटायो मुनाफा

७ माघ २०८०, आईतवार ०६:४८

काठमाडौं । कुमारी बैंक लिमिटेडको मुनाफा ८६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार छ महिनाको अवधीमा ८६ करोड ७२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब एक करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस वर्ष १४.३१ प्रतिशत कम हुन पुगेको छ । खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३१.४४ प्रतिशत बढेको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ । छ महिनामा खुद ब्याज आम्दानी पाँच अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी चार अर्ब २४ करोड रुपैयाँ मात्रै थियो । त्यस्तै खुद कमिशन तथा फि आम्दानी ४७ करोडबाट बढेर एक अर्ब १० करोड पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४५.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५.०८ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ । जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड पुगेको छ । सोही कारण पनि बैंकको वितरणयोग्य मुनाफा उच्च ऋणात्मक देखिएको हो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहको छ।

समीक्षा अवधीमा बैंकको प्रतिेशयर आम्दानी ६ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात २४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ ।

गत वर्ष मात्रै एनसीसी बैंकसँग मर्जर गरेको बैंकको कूल चुक्ता पुँजि २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । वित्तीय विवरणका अनुसार गत पुस मसान्तसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको बेस रेट १०.२८ रहेको छ भने कष्ट अफ फण्ड ७.९१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*