वर्षदिनमा ट्रेड टावरको आम्दानी ११ करोड, थप पारदर्शिता र वित्तीय स्थिरताका लागि आइपीओ

१८ माघ २०८१, शुक्रबार १३:५१

काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने लागेको ट्रेड टावर लिमिटेडले वर्षदिन (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानीमा गरेको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीको वित्तीय प्रदर्शन पनि पछिल्ला वर्षहरूमा सुधार हुँदै गइरहेको हो ।

सन् २०२३ मा सञ्चालन आम्दानी ९ करोड, सन् २०२२ मा ८ करोड १० लाख र सन् २०२१ मा ६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको सञ्चालन आम्दानीमा क्रमिक वृद्धि भएको छ ।

यसैगरी सञ्चालन मुनाफा प्रतिशत (ओपीबीडीआईटीए/ओआई) पनि सन् २०२१ मा ४४.५ प्रतिशत रहेकोमा सन् २०२४ सम्म आइपुग्दा ५३ प्रतिशतमा पुगेको छ । सन् २०२३ मा सञ्चालन मुनाफा प्रतिशत ४२.२ प्रतिशत र सन् २०२३ मा ५१.३ प्रतिशत रहेको थियो । जसले कम्पनीको सञ्चालन दक्षतामा सुधार भएको संकेत गरेको छ ।

कम्पनीको वित्तीय दायित्व व्यवस्थापन पनि सन्तुलित रहेको देखिन्छ । २०२० मा कम्पनीको कुल ऋण र स्थिर सम्पत्तिको अनुपात ०.०६ थियो, जुन २०२४ मा ०.८ पुगेको छ । यो वृद्धिले कम्पनीले आफ्नो परियोजना विस्तारका लागि ऋण लिने रणनीति अवलम्बन गरेको देखिएको छ । तर, यसको ऋण ब्याज भुक्तानी क्षमता पनि बलियो रहेको छ । २०२३ मा ३०.८ गुणा रहेको ब्याज कभरेज अनुपात २०२४ मा ७.२ गुणामा कायम रहेको छ ।

कम्पनीको कुल बाह्य दायित्व र स्थिर सम्पत्तिको अनुपात २०२० मा १.५ थियो, जुन २०२४ मा १.८ पुगेको छ । साथै, कम्पनीको सञ्चालन नगद प्रवाह व्यवस्थापन पनि सुधारउन्मुख देखिएको छ । तथापि, चालु अनुपात २०२४ मा ०.२ रहेकोले कम्पनीले अल्पकालीन दायित्व व्यवस्थापनमा थप सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । कम्पनीले पूर्वाधार विकासमा नयाँ परियोजनाहरूको पहिचान र विकास गर्दै थप लगानीकर्तालाई आकर्षित गर्ने योजना बनाएको छ । होटल क्रिस्टल पशुपतिका बाँकी कोठाहरू पूर्ण क्षमतामा सञ्चालनमा ल्याउँदा कम्पनीको आम्दानी थप वृद्धि हुने अपेक्षा गरिएको छ ।

इक्रा नेपालले कम्पनीको जारीकर्ता रेटिङ [ICRANP-IR] BB- को पुनः पुष्टिकरण गरेको छ। यस रेटिङलाई प्राप्त गर्ने संस्था त्यस्ता छन् जसको वित्तीय दायित्व समयमै सेवा गर्न असमर्थ हुने जोखिम मध्यम स्तरको मानिन्छ। यो रेटिङ संस्थाको सामान्य क्रेडिट जोखिमको धारणा मात्र हो र कुनै विशिष्ट ऋण उपकरणको लागि होइन। यो पुनः पुष्टिकरण ट्रेड टावर लिमिटेडको पर्याप्त अपरेसनको ट्र्याक रेकर्ड, परियोजनाको रणनीतिक स्थान र प्रमोटरहरूको सम्बन्धित व्यवसायहरूमा पूर्व अनुभव (परियोजना विकास, आतिथ्य, लिजिंग र वित्तीय) को आधारमा जारी गरिएको हो।

ट्रेड टावर काठमाडौंको थापाथलीमा मुख्यालय रहेको एक सार्वजनिक लिमिटेड कम्पनी हो, जसले भाडामा लगाउने, वित्तीय सेवा प्रदान गर्ने र पूर्वाधार विकासका कार्यहरूमा संलग्न छ । २००७ मा स्थापना भएको यो कम्पनीले २०११ देखि थापाथलीस्थित ट्रेड टावर भवनको व्यावसायिक सञ्चालन सुरु गरेको थियो ।

हालै कम्पनीले गौशालामा रहेको होटल क्रिस्टल पशुपति (पहिलेको ट्रेड टावर गौशाला) निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । यो तीन–तारे होटलले २०२४ को मध्य अप्रिलबाट आंशिक रूपमा सञ्चालन सुरु गरेको छ । होटलमा हाल ९० मध्ये ४९ कोठाहरू सञ्चालनमा छन्, साथै दुई ठूला सम्मेलन हलहरू पनि उपलब्ध छन् । यो परियोजनाले पर्यटन तथा अतिथ्य सेवा क्षेत्रमा सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ ।

२०२४ को मध्य अक्टोबरसम्म ट्रेड टावर लिमिटेडको पूँजी संरचना पूर्ण रूपमा ३५० भन्दा बढी प्रवद्र्धकहरूबीच सीमित रहेको छ । कम्पनीले आगामी दिनमा आईपीओ जारी गरी प्रवद्र्धकको स्वामित्व घटाएर करिब ५१ प्रतिशतमा सीमित राख्ने योजना बनाएको छ । शिवहरि डंगाल कम्पनीका प्रमुख प्रवद्र्धक तथा वर्तमान अध्यक्ष हुन् ।

कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा ११ लाख ५८ हजार ९८० कित्ता बराबरको ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आइपीओपछि थप पारदर्शिता र वित्तीय स्थिरता कायम गर्ने लक्ष्य राखेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*