‘स्वार्थ समूहलाई पोस्न रातारात अध्यादेश आयो’

२४ माघ २०८१, बिहीबार १४:५०

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारले स्वार्थ समूहलाई पोस्न रातारात अध्यादेश ल्याएको भन्दै कडा आलोचना गरेका छन्। प्रतिनिधि सभामा बोल्दै प्रचण्डले सरकारले लोकतान्त्रिक मूल्य र प्रक्रियाको अपमान गरेको आरोप लगाए। ‘संसद अधिवेशन सुरु हुन ६ दिन मात्रै बाँकी छँदा अध्यादेश ल्याउनुको अर्थ के हो ? के ६ दिन विकास ढिला हुने भयो भनेर अध्यादेशमार्फत चमत्कार गर्न खोजिएको हो ?” उनले सरकारको नियतमाथि प्रश्न उठाए।

उनले सरकार अध्यादेशको माध्यमबाट शासन चलाउन खोजेको र संसदलाई अपमान गरेको बताए। ‘रातारात चोर बाटोबाट ल्याइने अध्यादेशले सरकारको गलत नियत देखाउँछ’ प्रचण्डले भने। उनले सरकारको यो कदम दुई तिहाइको डर र लोकतान्त्रिक प्रक्रियाप्रतिको असहिष्णुताको प्रमाण भएको टिप्पणी गरे।

पाथिभरा क्षेत्रमा केबलकार निर्माण रोक्न स्थानीयले गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको घटनालाई प्रचण्डले निन्दनीय भने। उनले संवाद र छलफलबाट समाधान खोजिनुपर्नेमा दमनको बाटो रोजिएको आरोप लगाए। ‘समस्या समाधानको सम्भावना खोज्नुपर्ने ठाउँमा सरकार दमनको बाटोमा किन गयो ?’ उनले प्रश्न गरे।

साथै, उनले समाजिक सञ्जाल नियन्त्रण गर्न सरकारले ल्याउन लागेको विधेयकलाई पनि जनविरोधी भन्दै आलोचना गरे। ‘सरकार मालिक र जनता दास हुन् भन्ने सोचेर विधेयक ल्याइएको छ’ उनले भने। समाजिक सञ्जालमा जनतालाई दुःख दिने प्रयास तत्काल रोक्न उनले सरकारलाई आग्रह गरे।

प्रचण्डले रवि लामिछानेविरुद्ध विभिन्न मुद्दा दायर गरिएको विषयलाई पनि सरकारको प्रतिशोधको राजनीति भन्दै आपत्ति जनाए। ‘सरकारले राजनीतिक प्रतिशोधको बाटो अपनाएको छ, यो लोकतान्त्रिक प्रक्रियाका लागि खतरनाक छ’ उनले चेतावनी दिए।

उनले संसदलाई सम्मान गर्न, जनताको आवाज सुन्न, र संवादमार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरे। ‘बल प्रयोगको होइन, संवाद र सहमतिको बाटो खोज्नुपर्छ’ प्रचण्डको भनाइ थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*