योसुडा ब्रान्डका समान बिक्री हुनै छोडे: त्रिवेणी व्यापारको २५ करोड नाफा गायब, २ अर्ब ऋण लिँदै

काठमाडौँ । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी व्यापार कम्पनीको वर्ष दिनको अवधिमा २५ करोड नाफा गायब भएको छ । केयर रेटिङ नेपालको प्रतिवेदन अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा कम्पनीको २४ करोड ९० लाख रुपैयाँ नाफा घटेको हो ।
कम्पनीले सन् २०२४ मा ३ अर्ब ४२ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । तर, कम्पनीले सन् २०२३ मा ३ अर्ब ६७ करोड २० लाख र सन् २०२२ मा ४ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको थियो । तीन वर्षको अवधिमा कम्पनीको आम्दानीमा झण्डै १६ प्रतिशतले गिरावट आएको छ ।
कम्पनीले बिक्री गरिरहेका सामग्रीलाई गुणस्तरको गम्भीर समस्याले चुनौती दिइरहेको छ । विशेषगरी चीनबाट ओईएम मार्फत उत्पादित ‘योसुडा’ ब्रान्डका घरेलु उपकरणहरूमा देखिएका कमजोरीका कारण ग्राहकहरूको विश्वास घट्दै गएको छ । गुणस्तरप्रतिको असन्तुष्टिले ग्राहकहरूले कम्पनीका समानलाई रुचाउन छोड्दा बिक्रीमा कमी आएको छ, जसले आम्दानीमा प्रत्यक्ष गिरावट ल्याएको देखिन्छ ।
प्रतिस्पर्धात्मक उद्योगमा व्यापारिक प्रकृतिका कारण नाफा मार्जिन सीमित रहेको छ । त्यस्तै, कार्यशील पुँजीको उच्च आवश्यकता, ब्याजदरको अस्थिरता, विदेशी विनिमय दरको जोखिम र घरेलु तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धीहरूको दबाब पनि कम्पनीको चुनौतीहरू रहेका छन् । पहिले कम्पनीले चीन, कोरिया, थाइल्याण्ड र भारतजस्ता विदेशी मुलुकबाट उत्पादन आयात गरेर घरेलु बजारमा बिक्री गर्दथ्यो । हाल भने कम्पनीले मुख्य रूपमा भारतबाट मात्र उत्पादन आयात गर्दै आएको छ ।
कम्पनीको नाफा मार्जिन कमजोर देखिएको छ । सन् २०२२ मा ८.३४ प्रतिशत रहेको पीबीआईएलडीटी मार्जिन सन् २०२४ मा घटेर ७.७८ प्रतिशतमा झरेको छ । प्रतिस्पर्धी बजारको दबाब र बढ्दो सञ्चालन खर्चले कम्पनीको मुनाफा क्षमता कमजोर बनेको हो । कम्पनीको ऋण भार उच्च देखिएको छ । सन् २०२२ मा कम्पनीको समग्र गियरिङ अनुपात ३.५९ गुणा रहेकोमा यो सन् २०२४ मा घटेर १.९४ गुणा भए तापनि अझै जोखिमपूर्ण देखिन्छ । यस्तै, ब्याज भुक्तानी क्षमतामा सुधार भए पनि सन् २०२३ मा यो केवल १.३६ गुणा रहेको थियो ।
कम्पनीले सन् २०२३ मा कुल ऋण तथा नगद आर्जन अनुपात २१.१३ गुणा रहेको देखिएको थियो, जुन अत्यन्तै चिन्ताजनक अवस्था हो ।
आर्थिक रुपमा चुनौतिको सामना गर्दै आइरहेको त्रिवेणी व्यापार कम्पनीले २ अर्ब २९ करोड ऋण लिन लागेको छ । कम्पनीले उक्त ऋण लिनका लागि केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको बैंक सुविधालाई ’केयर–एनपी ए४ प्लस रेटिङ दिएको छ । कम्पनीले अझै पनि वित्तीय जोखिम र प्रतिकूल आर्थिक परिस्थितिलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्नुपर्ने आवश्यक रहेको रेटिङ संस्थाले जनाएको छ ।
कम्पनीले सन् २००८ जुन १२ मा स्थापना भई स्यामसुङ, पानासोनिक र सान्सुइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका उपभोक्ता सामग्रीको व्यापार गर्दै आएको छ । साथै, कम्पनीले चीनबाट ओईएम मार्फत घरेलु उपकरण उत्पादन गराई आफ्नै ब्रान्ड ’यासुदा’ अन्तर्गत बिक्री गर्दै आएको छ । हाल कम्पनीसँग सातै प्रदेशमा करिब २,२९७ वटा डिलरहरू रहेका छन्। तीमध्ये सबैभन्दा बढी डिलरहरू काठमाण्डौमा केन्द्रित छन् ।
अपडेट: मिति २०८१ फागुन ०२ गते
योसुडा ब्रान्डका समान बिक्री हुनै छोडे: त्रिवेणी व्यापारको २५ करोड नाफा गायब, २ अर्ब ऋण लिँदै शिर्षकमा प्रकाशित समाचार प्रति त्रिबेणी व्यापार कम्पनीको खण्डन















