एलआईसीको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष १ खर्ब २७ अर्बमाथि

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडल (एलआईसी) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ३ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवमा १३ करोड ६६ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर १४ करोड १८ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कुल आम्दानीसँगै खुद बीमाशुल्क आर्जन पनि वृद्धि भएकाले नाफा बढ्न मद्दत पुगेको हो।
कम्पनीको कुल आम्दानी गत आवमा १४ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै खुद बीमाशुल्क आर्जन गत आवमा ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ९ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा १० रुपैयाँ ३० पैसा रहेकोमा चालू आवमा बढेर १० रुपैयाँ ६९ पैसा पुगेको छ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीको शेयर प्रिमियम ६ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा ५८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।
त्यस्तै कम्पनीको जीवन बीमा कोष गत आवमा १ खर्ब १३ अर्ब ४६ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १ खर्ब २७ अर्ब २७ करोड रुपैैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय ४२ रुपैयाँ ४६ पैसा छ।













