नेशनल लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै प्रति शेयर आम्दानी बढ्यो

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले आफ्ना प्रमुख वित्तीय सूचांकहरुमा आश लाग्दो प्रगति देखाएको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५.६० प्रतिशतले बढेको छ । कम्पनीले यस अवधिमा २७ करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
साथै नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार समेत बृद्धि भएको छ । गत आर्थिक वर्षको अवधिमा ६६ अर्ब १८ करोड रुपैयाँ रहेको यस कोषमा समीक्षा अवधिमा १७.७८ प्रतिशतले बढेर ७७ अर्ब ९५ करोड रुपैयाँ सञ्चित रहेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १२.२० प्रतिशतले बढेर नौ अर्ब ९१ करोड रुपैयाँ संकलन भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी वित्तीय सूचांकहरुमा बलियो बन्दै गएको छ ।
कम्पनीले लगानी तथा ब्याज आम्दानीबाट दुई अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यस अवधिमा कुल खर्च १२ अर्ब ३२ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीले नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिकामा रही विभिन्न क्षेत्रमा कुल ६९ अर्ब १८ करोड रुपैयाँ लगानी समेत गरेको छ ।
साथै, नेशनल लाइफ इन्स्योरेन्सको कुल दावी भुक्तानी पनि बृद्धि भएको छ ।यस अवधिमा कम्पनीले कुल चार अर्ब ७६ करोड रुपैयाँ बराबरको दावी भुक्तानी वितरण गरेको छ । जुन आम बीमितहरुको लागि राम्रो पक्ष हो।
चुक्ता पुँजी पाँच अर्ब एक करोड रुपैयाँ रहेको नेशनल लाइफको प्रतिशेयर आम्दानी १० रुपैयाँ १८ पैसा रहेको छ ।












