बीमा कम्पनीहरूले तीन महिनामै भुक्तानी गरे २३ अर्बभन्दा बढी दाबी रकम, अझै ७० अर्ब बाँकी

काठमाडौं । नेपाली बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २३ अर्ब रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार असोज मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरूले कुल २३ अर्ब १ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले ७७ हजार ७०९ वटा दाबीबापत १५ अर्ब १० करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमातर्फ दाबी भुक्तानी संख्या ३२.०२ प्रतिशत र भुक्तानी रकम ३०.५२ प्रतिशतले बढेको हो।
यद्यपि जीवन बीमातर्फ अझै ठूलो रकम दाबी भुक्तानी हुन बाँकी छ। असोज मसान्तसम्म १ लाख २३ हजार ४८४ वटा दाबीबापत ९ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा १०१.९२ प्रतिशतले बढी हो।

त्यस्तै निर्जीवन बीमा कम्पनीहरूले असोज मसान्तसम्म ४१ हजार ३९४ वटा दाबी फछ्र्यौट गर्दै ७ अर्ब ९० करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्जीवन बीमातर्फ दाबी भुक्तानी संख्या २६.९२ प्रतिशत र रकम ४०.१२ प्रतिशतले बढेको छ।
निर्जीवन बीमा क्षेत्रमा पनि भुक्तानी हुन बाँकी दाबीको आकार ठूलो देखिएको छ। असोज मसान्तसम्म १ लाख १३ हजार २५ वटा दाबीबापत ६० अर्ब ५ करोड ७० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशतले बढी हो।
यसरी हेर्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन र निर्जीवन बीमा कम्पनीहरूले गरी २३ अर्बभन्दा बढी दाबी भुक्तानी गरे पनि दुवै क्षेत्रमा ठूलो परिमाणमा दाबी रकम अझै बाँकी रहेको छ। विशेषगरी निर्जीवन बीमातर्फ मात्रै ६० अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी हुन बाँकी रहेको देखिएको छ।











