छ महिनामा सन नेपाल लाइफले कमायो २८ करोड, जीवन बीमा कोष नौ अर्ब नजिक

काठमाडौं । सन नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासिक अवधीसम्ममा २८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । आज प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा सामान्य घटेर ३२ करोडबाट तल झरेको छ । नियामकीय नीतिका कारण बैदेशिक रोजगार म्यादी बीमालाई पुलमार्फत सञ्चालन गरेकोले कम्पनीको मुनाफा प्रभावित भएको हो ।
पुस मसान्तसम्ममा कम्पनीले जीवन बीमा कोषमा आठ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । गत बर्षको सोही अवधीमा छ अर्ब ४३ करोड रुपैयाँ संचित रहेको थियो । समीक्षा अवधीमा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ ।

समीक्षा अवधीमा कम्पनीले दुई अर्ब ४५ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । भने ७२ करोड ७२ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ ।
दोस्रो त्रैमासिक अवधीसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १४.२५ रुपैयाँ, रहेको छ भने नेटवर्थ १६६.१२ रुपैयाँ, पिई अनुपात ४२.२५ र प्रति शेयर कूल सम्पत्तिको मूल्य ४०६.१७ रुपैयाँ रहेको छ ।













