९ खर्बको आयात हुँदा १ खर्ब २७ अर्बको निर्यात, व्यापार घाटा अझै चिन्ताजनक

काठमाडौँ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालमा वैदेशिक व्यापारको परिमाण उल्लेखनीय रूपमा वृद्धि भएको छ । आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा अझै कायम रहेको देखिन्छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालले कुल ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँभन्दा १०.०९ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै, सोही अवधिमा नेपालले १ खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको ८६ अर्ब ८३ करोड ९१ लाख रुपैयाँको तुलनामा ४६.५० प्रतिशतले वृद्धि भएको देखिन्छ । निर्यातमा भएको उल्लेखनीय वृद्धिले मुलुकको व्यापार असन्तुलन कम गर्ने अपेक्षा गरिएको छ ।
तर, आयात निरन्तर बढेकै कारण व्यापार घाटा अझै उच्च नै रहेको छ । चालु आवको पहिलो सात महिनामा व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८ अर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँभन्दा ६.२० प्रतिशतले वृद्धि भएको हो ।
कुल वैदेशिक व्यापार १३.३० प्रतिशतले वृद्धि भएर १ खर्ब ११ खर्ब ५७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यसमा निर्यातको योगदान वृद्धि हुँदै गएको देखिए पनि आयातको हिस्साले अझै ठूलो स्थान ओगटेको छ ।
आयात–निर्यात अनुपातमा सुधार आएको देखिन्छ । अघिल्लो वर्षको पहिलो सात महिनामा आयात–निर्यात अनुपात १०.३४ थियो भने यस वर्ष यो अनुपात घटेर ७.७७ मा झरेको छ, जसले आयातको तुलनामा निर्यातमा सुधार भइरहेको संकेत गर्छ।
निर्यातको कुल व्यापारमा हिस्सेदारी ८.८२ प्रतिशतबाट ११.४० प्रतिशतमा पुगेको छ, जुन २९.३० प्रतिशतको वृद्धि देखिएको छ । अर्कोतर्फ, कुल व्यापारमा आयातको हिस्सेदारी ९१.१८ प्रतिशतबाट ८८.६० प्रतिशतमा झरेको छ, जुन २.८३ प्रतिशतको गिरावट हो ।













