जगदम्बा मोटर्स र अटो ग्रुपले गरे साढे १३ अर्बको व्यापार: टिभिएसमा बढ्दो ग्राहक आकर्षण, ७ अर्ब ऋण लिँदै

काठमाडौँ । शंकर समूहका दुई प्रमुख अटो कम्पनी कम्पनी जगदम्बा मोटर्स र जगदम्बा अटो ग्रुप आर्थिक रूपमा मजबुत बन्दै गएका छन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले हालै सार्वजनिक गरेको विवरण अनुसार यी कम्पनीहरूको आम्दानीमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपालको अटोमोबाइल बजारमा स्थिरता कायम गर्दै ग्राहकहरूको विश्वास जित्न सफल यी कम्पनीहरूले उत्कृष्ट वित्तीय प्रदर्शन गरेका छन्।
रेटिङ एजेन्सीका अनुसार सन् २०२४ मा मात्र दुई कम्पनीले कूल १३ अर्ब ६७ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएका छन्। जगदम्बा मोटर्सको कारोबार ८ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ भने जगदम्बा अटो ग्रुपले ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार गरेको छ। यो वृद्धिले नेपालमा अटोमोबाइल बजार पुनः गतिशील बन्दै गएको संकेत गरेको छ।
यस आर्थिक वृद्धिको पछाडि जगदम्बा समूहले अवलम्बन गरेका दूरदर्शी व्यावसायिक रणनीति, ग्राहक–केद्रित सेवा तथा गुणस्तरीय सवारी साधनको आपूर्ति रहेको छ । कम्पनीहरूले नयाँ प्रविधि, उत्कृष्ट बिक्रीपछिको सेवा तथा सुलभ वित्तीय योजनाहरू प्रस्तुत गरेर उपभोक्ताहरूको आकर्षण बढाएका छन्। कम्पनीहरूको आर्थिक वृद्धिमा टिभिएस मोटरसाइकलहरूको बढ्दो लोकप्रियता महत्त्वपूर्ण कारक बनेको छ। विशेष गरी युवा पुस्तामा टिभिएसको स्पोर्टी र स्टाइलिस मोडेलहरू निकै रुचाइएका छन्। अपाचे सिरिज, रेडर, एनटर्क स्कुटर जस्ता उत्पादनहरू नेपाली बजारमा उत्कृष्ट बिक्री गरिरहेका छन्। आकर्षक डिजाइन, उन्नत प्रविधि, इन्धन बचत गर्ने विशेषता, र प्रतिस्पर्धी मूल्यका कारण टिभिएसका सवारी साधनहरू ग्राहकहरूको पहिलो रोजाइ बन्न पुगेका छन्।
जगदम्बा मोटर्स नेपाल
जगदम्बा मोटर्स नेपालको अटोमोटिभ वितरण क्षेत्रमा महत्वपूर्ण स्थान राख्ने कम्पनीले हो । २०१० डिसेम्बरमा एसजी ग्लोबल प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको यो कम्पनी २०१५ जुनमा जगदम्बा माटर्समा पुनः ब्रान्डिङ गरिएको हो । कम्पनीले २०१५ सेप्टेम्बरदेखि नेपालमा टिभिएस मोटर कम्पनी लिमिटेडको एकमात्र अधिकृत वितरकको रूपमा कार्य गर्दै आएको छ । सन् २०२० देखि प्रोटोन कारको पनि एकमात्र अधिकृत वितरकको रूपमा सेवा गर्दैछ ।
कम्पनीको वित्तीय स्थिति पछिल्ला तीन वर्षमा विविध उतारचढावका साथ देखा परेको छ । २०२२ मा कुल सञ्चालन आय १३ अर्ब ६१ करोड ८० लाख रुपैयाँ रहेको थियो भने २०२३ र २०२४ मा क्रमशः ७ अर्ब ८४ करोड ६० लाख र ८ अर्ब ८२ करोड २० लाख रुपैयाँ रहेको छ । EBITDA मार्जिन २०२२ मा १४.९३ प्रतिशत रहेकोमा, २०२३ र २०२४ मा क्रमशः १०.६२ र १०.५३ प्रतिशतमा घटेको छ ।

ब्याज कभरेज अनुपात २०२२ मा ५.६० रहेको थियो भने २०२३ मा १.७१ सम्म घट्यो, तर २०२४ मा यसमा केही सुधार आई ३.२६ पुगेको छ । कुल ऋण÷भ्द्यक्ष्त्म्ब् अनुपात पनि २०२२ मा १.८९ रहेकोमा, २०२३ मा बढेर ३.६३ पुगेको र २०२४ मा ३.०१ मा घटेको छ। वर्तमान अनुपात २०२२ मा १.१६, २०२३ मा १.१२ र २०२४ मा १.२४ पुगेको छ, जसले कम्पनीको तरलता अवस्थालाई सन्देश दिएको छ । समग्र गियरिङ अनुपात पनि २०२२ मा १.७२, २०२३ मा १.६५ र २०२४ मा १.२९ रहेको छ ।
जगदम्बा अटो ग्रुप
जगदम्बा अटो ग्रुप को स्थापना डिसेम्बर २०१४ मा भएको हो। यो निजी लिमिटेड कम्पनी हो, जसको उद्देश्य सवारी साधनको व्यापार, एसेम्बलिंग, बिक्री, सेवा तथा पार्ट्स आपूर्ति गर्ने रहेको छ। कम्पनीले आर्थिक वर्ष २०२१ बाट दुई पांग्रे र तीन पांग्रे सवारी साधनहरूको एसेम्बलिंग युनिट सञ्चालन गरेको छ।
जगदम्बा अटो ग्रुपले सन् २०२२ मा भने ३ अर्ब ४३ करोड १० लाख र सन् २०२३ मा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको देखिन्छ । सवारी साधन व्यापार तथा एसेम्बलिङ व्यवसायमा स्थापित जगदम्बा अटो ग्रुप आर्थिक रूपमा सुदृढ बन्दै गएको छ । २०१४ डिसेम्बरमा स्थापना भएको यस कम्पनीले दुई पांग्रे र तीन पांग्रे सवारी साधनको व्यापार, बिक्री, सेवा तथा एसेम्बलिङ गर्दै आएको छ । कम्पनी सन् २०२१ बाट एसेम्बलिङ युनिट सञ्चालनमा ल्याएको हो ।
कम्पनीको EBITDA मार्जिन क्रमशः ५.२८ प्रतिशत (सन्२०२२), ८.१६ प्रतिशत (सन् २०२३) र ८.२२ प्रतिशत (सन् २०२४) कायम भएको छ । सूद ब्याज कभरेज अनुपात सन् २०२३ मा १.६४ मा झरे पनि सन् २०२४ मा उल्लेखनीय सुधार देखिँदै ४.३६ पुगेको छ ।
कुल ऋण अनुपात पनि सुधार हुँदै गएको छ । सन् २०२२ मा यो अनुपात ४.५७ रहेकोमा सन् २०२४ मा १.३५ मा झरेको छ । कम्पनीको चालु अनुपात सन् २०२२ मा १.२६ रहेकोमा सन् २०२३ मा १.३८ र सन् २०२४ मा सुधार हुँदै १.८३ पुगेको छ ।कम्पनीले पछिल्लो समय सवारी साधन तथा अटोमोबाइल एसेम्बलिङ व्यवसायमा लगानी बढाउँदै ल्याइएको मोडेलहरूको विविधीकरण गरिरहेको छ । वित्तीय प्रदर्शन सुधारसँगै कम्पनीले दीर्घकालीन रूपमा नेपाली अटोमोबाइल उद्योगमा थप प्रतिस्पर्धात्मक लाभ लिन सक्ने देखिन्छ । कम्पनीले १०० देखि ३१० सीसीका मोटरसाइकल, ११० देखि १२५ सीसीका स्कुटर र तीन पांग्रे सवारीसाधन बिक्री गर्छ ।

जगदम्बा अटो ग्रुपले १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँको बैंकिङ कर्जा तथा रेटिङ प्राप्त गरेको छ। उता, जगदम्बा मोटर्सले ५ अर्ब ९६ करोड ७४ लाख रुपैयाँको कर्जाका लागि रेटिङ प्राप्त गरेको देखिन्छ। यसरी, नेपालका सवारीसाधन व्यापार तथा एसेम्बलिङ क्षेत्रमा अग्रणी रहेका यी दुई कम्पनीहरू हालको व्यापारिक विस्तार तथा वित्तीय मजबूतीका कारण आगामी दिनमा थप सुदृढ हुने सम्भावना देखिन्छ।
दुबै कम्पनीको व्यवस्थापनमा शाहिल अग्रवाल रहेका छन् ।













