‘नेतृत्वकर्ताकै शेयर हुँदा जनता मारेर भएपनि केवलकार बनाइदै, माओवादी देशभर आन्दोलनमा उत्रिन सक्छ’

१३ फाल्गुन २०८१, मंगलवार १४:२०

काठमाडौँ ।  मोरङको कानेपोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केवलकारको विषयलाई छलफल र समझदारीबाट समाधान गर्नुपर्ने बताएका छन्। उनले उक्त परियोजनामा सरकारमा नेतृत्व गर्नेहरूकै लगानी रहेको दाबी गर्दै सरकार जनता मारेर भए पनि केवलकार बनाउने सोचमा रहेको आरोप लगाए।

उनले भने, ‘बल प्रयोग गरेर सरकारले आन्दोलनकारीको टाउको फुटाउने कार्य गरिरहेको छ । प्रहरीहरुको पनि नचाहादा नचाहदै सरकारको निर्देशनको पालना गर्नु परेको छ । पाथिभरा केवलकारमा सरकारको नेतृत्व गर्नेको पनि ठुलै शेयर छ रे त्यस कारण जनता मारेर भएपनि बनाइ छोड्ने भन्ने मुर्खता तिर सरकार देखिएको छ ।’

प्रचण्डले पाथीभरा केवलकारको मुद्दा धार्मिक, सांस्कृतिक, पहिचान, इतिहास, र भावनासँग जोडिएको भएकाले सरकारले बल प्रयोग नगर्न चेतावनी दिए। उनले दमनको बाटो रोजे सरकारको ठूलो दुर्भाग्य हुने बताए। ‘पाथिभराको मुद्धा संस्कृति र धर्मसँग जोडिएको छ । त्यसमा सरकारले दमन गर्ने नखोजोस् । यदि बल प्रयोग गरेर संस्कृति, पहिचान, इतिहास र भावनाको मुद्धालाई बल प्रयोग गरेर हल गर्ने खोज्यो भने त्यो ठुलो दुभाग्य हुनेछ । बल प्रयोग गरेर होइन संवाद र छलफलको माध्यमबाट समाधान गर्नु पर्छ । सबैलाई मान्य हुने समझदारी गर्नु पर्छ’ प्रचण्डले भने।

‘हामीले ठूला युद्धहरू समेत छलफलबाट समाधान गरेका छौँ। पाथीभराको विषय पनि संवादबाट टुंग्याउनुपर्छ। सरकारले बल प्रयोग गरेर आन्दोलनकारीलाई दमन गर्‍यो भने माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ’ प्रचण्डले भने।

उनले सरकारलाई भ्रष्टाचारी र बिचौलियाको संरक्षण गरेको आरोप लगाउँदै पाथीभरा केवलकार परियोजनामा सरकारकै नेतृत्वको स्वार्थ रहेको बताए। ‘सरकार केवलकार निर्माणका लागि जनता मार्नसमेत तयार देखिन्छ, यो मूर्खता बन्द गर्नुपर्छ। सरकारलाई खबरदारी मात्र गरेका छौँ, बेवास्ता गरे देशभरका करोडौँ नेपाली आन्दोलनमा उत्रिनेछन्’ प्रचण्डको चेतावनी थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*