एक अर्बमा बनेको गोल्यान टावरले पहिलो वर्षमा कमायो २ करोड ८० लाख, ४९% क्षेत्रफलमा भाडा लाग्न बाँकी

१५ फाल्गुन २०८१, बिहीबार १३:०७

काठमाडौँ । एक अर्ब लगानीमा बनेको काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित १३ तल्ले व्यावसायिक भवन गोल्यान टावर प्रालिले सञ्चालनमा आएको पहिलो वर्षमै आय आर्जन गर्न सफल भएको छ । प्रारम्भमा वेस्टार होटल्स लिमिटेडको रूपमा स्थापना भई पछि निजी कम्पनीका रूपमा रूपान्तरण भएको यस संस्थाले २०८१ वैशाखदेखि व्यावसायिक सेवा प्रदान गर्न सुरु गरेको हो । कम्पनीको एकमात्र व्यावसायिक भवनको कुल भाडा क्षेत्रफल ५८ हजार ५१० वर्गफुट रहेको छ ।

इक्रा नेपालका अनुसार गोल्यान टावरको सन् २०२४ मा २ करोड ८० लाख रुपैयाँको सञ्चालन आम्दानी आर्जन गरेको छ । कम्पनीले सन् २०२४ मा ६८.९ प्रतिशतको अपरेटिङ नाफा बिफोर डिप्रिसिएसन, इन्टरेस्ट, ट्याक्स एण्ड अमोर्टाइजेसन मार्जिन कायम गर्न सफल भएको छ । सन् २०२३ मा कुनै आम्दानी नभएको अवस्थामा २०२४ मा उल्लेख्य आम्दानी गर्न सफल भएको देखिन्छ ।

कम्पनीको कुल ऋण र मूर्त नेट वर्थ अनुपात सन् २०२३ मा १.७ गुणा रहेकोमा २०२४ मा बढेर १.८ गुणा पुगेको छ । त्यस्तै, कुल बाह्य दायित्वको नेट वर्थसँगको अनुपात २.२ गुणाबाट घटेर २.० गुणा पुगेको छ ।

कम्पनीको कुल ऋण अनुपात सन् २०२३ मा (१८७.३) गुणा रहेकोमा २०२४ मा घटेर ९.१ गुणामा आइपुगेको छ । सोही अवधिमा ब्याज कभर अनुपात र ऋण सेवा कभर अनुपात दुवै १.५ गुणामा कायम भएको छ । कम्पनीको चालू अनुपात सन् २०२३ मा ०.२ मात्र रहेकोमा २०२४ मा बढेर ०.६ पुगेको छ । तर, सञ्चालन आम्दानीको तुलनामा कम्पनीको कार्यशील पूँजी –३४ प्रतिशत नकारात्मक देखिएको छ ।

कम्पनीले आफ्नो सञ्चालन २०२४ को मध्य अप्रिलबाट सुरू गरेको हो । कुल भाडामा दिन सकिने क्षेत्रफलमध्ये करिब ५१ प्रतिशत (झन्डै ३०,००० वर्गफुट) क्षेत्र आफ्नै सम्बन्धित कम्पनीहरूलाई छुट्याइएको छ भने बाँकी करिब २८,००० वर्गफुट क्षेत्र अन्य व्यवसायिक संस्थाहरूका लागि राखिएको छ । सम्बन्धित कम्पनीहरूलाई छुट्याइएको क्षेत्र पूर्ण रूपमा भाडामा लगाइएको छ भने बाहिरी व्यवसायका लागि छुट्याइएको क्षेत्र अझै भाडामा लगाउन बाँकी रहेको छ ।

भाडाको दर सम्बन्धित कम्पनीहरूका लागि प्रति वर्गफुट करिब ३३४ रूपैयाँ निर्धारण गरिएको छ, जुन सुरुआती अनुमानित २५० रूपैयाँ प्रति वर्गफुटको तुलनामा उच्च हो । त्यस्तै, अन्य व्यवसायका लागि निर्धारण गरिएको भाडा दर प्रति वर्गफुट १६५ रूपैयाँ छ, जुन सुरुआती अनुमानित १५० रूपैयाँभन्दा केही बढी हो ।

६० प्रतिशत ऋणमा बनेको यस टावरको कुल निर्माण लागत अर्ब २४ करोड ५० लाख रुपैयाँ हो । गोल्यान टावरले ७५ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीको अध्यक्ष एवं प्रमुख शेयरधनी शक्ति कुमार गोल्यान हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*