न्यून बिन्दुमा आइपुग्यो आधार दर, सस्तो ब्याजमा ऋण लिन कुन बैंक जाने ?

१६ फाल्गुन २०८१, शुक्रबार १२:०८

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) फागुन महिनामा ०.१९ प्रतिशतले घटेर औसत ६.६१ प्रतिशतमा झरेको छ । गत माघ महिनामा यो दर ६.८ प्रतिशत थियो भने पुस मसान्तमा ७.०२ प्रतिशत थियो ।

बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अत्यधिक भएपछि बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन्, जसका कारण आधार दर पनि घट्दै गएको हो । आधार दर घट्दा कर्जाको ब्याजदरमा पनि कमी आउने भएकाले बैंकहरू प्रतिस्पर्धात्मक ब्याजदरमा कर्जा प्रवाह गर्न तयार देखिएका छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर हाल ५.११ प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ५.४४ प्रतिशत र एभरेस्ट बैंकको ५.६३ प्रतिशत कायम भएको छ । त्यस्तै, नेपाल बैंकको ६.१२ प्रतिशत, नबिल बैंकको ६.१७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंको ६.४१ प्रतिशत, कृषि विकास बैंकको ६.६३ प्रतिशत, एनएमबि बेंकको ६.७३ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.७४ प्रतिशत, सानिमा बैंकको ६.७६ प्रतिशत, हिमालयन बैंकको ६.८५ प्रतिशत, सिद्धार्थ बैंकको ६.९ प्रतिशत र माछापुछ्रे बैंकको ६.९ प्रतिशत रहेको छ ।

ब्याजदर घटे पनि कर्जा प्रवाहमा अपेक्षित वृद्धि नभएको बैंकरहरू बताउँछन् । आन्तरिक अर्थतन्त्र मन्दीग्रस्त रहेकाले सर्वसाधारण ऋण लिन उत्साहित छैनन् । विशेषगरी शेयर बजार र रियल स्टेट क्षेत्रमा गतिविधि सुस्त हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । आयात–निर्यात व्यापारमा आएको मन्दीले समेत कर्जाको माग कमजोर बनाएको छ । यद्यपि, पछिल्ला दिनमा कर्जा प्रवाहमा केही सुधार देखिन थालेको छ, र ब्याजदर सस्तो हुँदा विस्तारै ऋण लगानी बढ्ने अपेक्षा गरिएको छ ।

बैंकहरू विशेषगरी घरजग्गा कर्जामा आधार दरमै कर्जा उपलब्ध गराउन इच्छुक देखिएका छन् । यसबाहेक अन्य क्षेत्रमा पनि एकल अंकको ब्याजदरमै कर्जा दिन बैंकहरू तयार रहेको बताइएको छ । बैंकहरूको आधार दर घट्ने क्रमले कर्जाको लागत अझै सस्तो हुने संकेत गरेको छ, जसले आर्थिक गतिविधि चलायमान बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

सरकार तथा नियामक निकायहरूले वित्तीय नीतिहरूलाई क्रमशः लचिलो बनाउने संकेत देखाएका छन्, जसले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ। बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहेकाले जलविद्युत् परियोजनालगायत दीर्घकालीन योजनाहरूमा कर्जा प्रवाह बढ्न थालेको छ। सेयर बजारमा सुधार आएमा अन्य आर्थिक क्षेत्रहरूमा समेत सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ, जसले कर्जा विस्तारलाई समेत टेवा दिनेछ।

व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंक: दुई कम्पनीको कर्जा र निक्षेप दुबै घट्यो, कुनको कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*