सिजी मोटर्सको किङलङ ईभीको सुरक्षामाथि प्रश्न, काठमाडौंमा भयो यस्तो घटना

२१ बैशाख २०८२, आईतवार १२:०४

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सञ्चालित सिजी मोटर्सले नेपाली बजारमा भित्र्याएको किङलङ विद्युतीय माइक्रो बस पुनः एकपटक दुर्घटनामा परेको छ । आइतबार बिहान ५ः४५ बजे काठमाडौँको मुख्य सडकखण्ड रत्नपार्क स्थित विद्युत प्राधिकरण कार्यालय अगाडि सो गाडी दुर्घटना हुँदा अगाडिको भाग पूरै क्षतिग्रस्त भएको हो ।

‘श्री कलंकी माई इलेक्ट्रिक माइक्रो बस प्रा.लि.’ द्वारा सञ्चालन हुँदै आएको बागमती प्रदेश ०१–००२ ज ७०५२ नम्बरको किङलङ विद्युतीय माइक्रो बसको ब्रेकिङ स्टिममा समस्या आएपछि दुर्घटना भएको बताइएको छ । चालकका अनुसार गाडी चलाइरहेका बेला अचानक ब्रेक फेल भएको र आफ्नो नियन्त्रणबाहिर जाँदा दुर्घटना हुन पुगेको हो । गम्भीर क्षति भए पनि मानवीय क्षति भने नभएको बताइएको छ । यद्यपि, सो गाडीमा देखिएको प्राविधिक कमजोरीले गुणस्तर, ब्रेकिङ प्रणाली र कम्पनीको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ ।

सिजी मोटर्सले हेर्दा आकर्षक देखिने आधुनिक सुविधा भएको भन्दै बजारमा प्रचार गरिरहेका किङलङ ब्रान्डका गाडी एकपछि अर्को गर्दै समस्या देखिँदै आएको छ । विद्युतीय सवारीसाधनप्रति विश्वास बढाउने दाबीका साथ ल्याइएका यस्ता गाडीमा बारम्बार ब्रेक, ब्याट्री रेन्ज र सञ्चालनसम्बन्धी समस्या देखिनुले आम उपभोक्ताको विश्वासमा नै दरार परेको देखिएको हो ।

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउने, पुराना डिजेल र ग्यासबाट चल्ने गाडी विस्थापित गर्दै स्वच्छ विद्युतीय यातायातको अवधारणालाई कार्यान्वयनमा ल्याउने नीति लिएको छ । सोही नीतिअनुसार विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याइएका हुन् । तर, यस्ता गाडी निरन्तर दुर्घटना हुनु, रेन्ज कम देखिनु, ब्रेक फेल जस्ता समस्याले विद्युतीय सवारीमाथिको आम जनविश्वास कमजोर बनाइरहेको छ ।

नेपाली बजारमा उपलब्ध किङ लङ माइक्रो बसहरू १४ र १९ सिटर मोडेलमा छन् । सिएटिलद्वारा निर्मित लिथियम आयरन फोस्फेट ब्याट्री प्रयोग गरिएको बताइन्छ, जसले एकपटक फुल चार्जमा ३०० किमी चल्ने कम्पनीको दाबी छ । तर, प्रयोगकर्ताहरूले कम्पनीले भनिएको जस्तो रेन्ज नपाइने, बैट्री छिट्टै सकिने, गाडी चिप्लिने, ब्रेक नलाग्ने जस्ता गुनासो गरिरहेका छन् । यस्ता समस्या आउँदा पनि कम्पनीले कुनै ठोस अनुगमन, सुधार प्रक्रिया र गाडीको मर्मतका लागि प्रभावकारी सर्भिस उपलब्ध गराएको देखिँदैन ।

यसअघि पनि सिजी मोटर्सले भित्र्याएको माइक्रो बस दुर्घटनामा परेका छन् । केही गाडीको ब्याट्रीले अचानक काम नगर्ने, स्टार्ट नहुने, चार्जरमै समस्या देखिने, हिटर वा एसी जडानको कमजोरी, इलेक्ट्रिक सर्किटमा त्रुटि जस्ता समस्या देखिँदै आएका छन् । तर, यस्ता समस्या समाधान गर्न सिजी मोटर्सले कुनै स्पष्ट र पारदर्शी कार्ययोजना अघि सारेको छैन । सो विषयमा सिजि मोटर्सका किरण आचार्यसँग सम्पर्क गर्ने खोज्दा सम्पर्कमा नै आउन चाहेनन् ।

2 thoughts on “सिजी मोटर्सको किङलङ ईभीको सुरक्षामाथि प्रश्न, काठमाडौंमा भयो यस्तो घटना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*